• २०८१ फागुन ६ मङ्गलबार

पर्फ्युम

स्नेह सायमी

स्नेह सायमी

म बन्थोचाको मोडबाट
ओर्लिरहेको थिएँ
तिमी नैकापको उकालो
चढीरहेकी थियौ
मैले पहिलोपटक
तिम्रो अनुहारमा
देखेको थिएँ
पसीनाका स- साना हीराहरू
बन्दै, गुड्दै झर्दै गरेको
नैकापको धुलाम्य बाटोमा
र मैले त्यही पसीनासंग
प्रेम गरेको थिएँ

तिम्रो पसीनाले
स्कुलका बिद्यार्थीहरू भिजिरहेका थिए
गाउँका छोरी बुहारीहरू
भिज्नथालेका थिए
कार्की र सार्की गाउँ
जोडींदै गइरहेको थियो

हुँदा हुँदा
त्यही पसीनाले भिज्दै गयो
म बसेको घर ,कोठा र बिछ्यौना
त्यही पसीनाले भिज्दै गयो
मेरो बर्तमान र सपना

म थाहा पाउँछु
तिम्रो पसीनाको गन्ध
तिमी नुहाएर आउ
कुनै चन्दन साबुनले
वा
छर्केर आउ
गुलाबी सुगन्ध
म निन्द्रामै थाहा पाउँछु
तिम्रो पसीनाको गन्ध
धेरै टाढा रहंदा पनि सम्झन्छु
तिम्रो पसीना
यही त मेरो जीवनको पर्फ्युम हो ।


(सायमी स्थापित कवि हुनुहुन्छ ।)
[email protected]