• २०८२ कार्तिक १३, बिहीबार

सुन्दर हरैंचामा स्रष्टा भेटघाट र रचना वाचन कार्यक्रम सम्पन्न

मोरङ ।

कोसी साहित्य–कला परिषद् नेपालले मोरङको सुन्दरहरैंचामा चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान, स्रष्टा भेटघाट र रचना वाचन गरेको छ । सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष एवं कवि डा. छवि वैरागी घिमिरेले गजलकार तथा गायक राज यात्री लम्सालको स्वागतार्थ कार्यक्रमको आयोजना गरिएको बताए । २०७२ सालमा ‘मेरो यात्रा’ गीत÷गजल एल्बम प्रकाशनमा ल्याएका लम्सालको २०६४ सालमा ‘विम्ब’ भाग–२ (संयुक्त एल्बम) प्रकाशनमा आएको छ। यसका साथै विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरू प्रकाशित छन्। उनी सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा कोसी प्रदेश इन्चार्ज र साहित्यपोस्ट युएई संयोजक हुन् ।

उनले ग्लोरी भ्वाइस आइकन अनलाइन गायन प्रतियोगितामा २०७४ मा तृतीय, माउन्ट मिडिया विश्व सेवा, बोधी एच डी तथा नेपाल म्युजिक फाउन्डेसनको संयुक्त आयोजनामा २०७५ मा सम्पन्न विश्वव्यापी गजल प्रतियोगितामा तृतीय र पाँचथर गजल मञ्चले २०७५ सालमा आयोजना राष्ट्रिय गजल प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेका छन् । सुन्दरहरैँचा–८, सलकपुर, मोरङ स्थायी बसोबास रहेका उनी लामो समय समयदेखि रोजगारीका क्रममा संयुक्त अरब एमिरेट्समा छन् । गजलकार लम्सालले उक्त अवसरमा एक दर्जन जति गीत र गजल गाएका थिए। पुण्यप्रसाद सङ्ग्रौला, भूमा अधिकारी, शर्मिला सिग्देल, लीला सङ्ग्रौला र आइतराज लिम्बूले उनलाई साथ दिएका थिए ।

डा. छवि वैरागी घिमिरेको व्यवस्थापनमा वैरागीकुटी, सुन्दरहरैंचा–९, विराटचोक, मोरङमा भएको कार्यक्रममा अग्रज स्रष्टा, वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष एवं कवि डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही रहेका थिए । त्यस्तै भानु साझा पुस्तकालयका अध्यक्ष एवं कवि पुरन याक्खा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष एवम् गजलकार रमेश निरौला, सामाजिक व्यक्तित्व तारा घिमिरे, स्रष्टाहरू नवराज पोखरेल, ‘नवशिला’, सिजन श्रेष्ठ, रमेश निरौला, युवराज ठकुरी, वासु अधिकारी, सुन्दर भट्ट, एकराज भट्टराई, मनोज कार्की लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा पुरन याक्खा, रमेश निरौला, सिजन श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठ लगायतका स्रष्टाहरूले रचना वाचेका थिए । यस्तै प्रकारको कार्यक्रम रङ्गेली र बेलबारीमा पनि भएको र अनौपचारिक रूपमै यो कार्यक्रम संस्थाको तेस्रो शृङ्खला रहेको कोसी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु विरही बताए। उनले भने, ‘यसअघि हामीले रङ्गेलीमा चिरञ्जीवी काफ्ले र बेलबारीमा नवराज पोखरेल ‘नवशिला’ को घरमा यस्तै कार्यक्रम गरिसकिएका छौं । घरमै पुगेर यसरी गरिने कार्यक्रमले स्रष्टासँगको आत्मीय बढाउने, स्रष्टासँग अन्तरङ्ग छलफल गरिनुका साथै फरकफरक स्वादका नयाँनयाँ साहित्यिक रचनाको रसास्वादन समेत गर्न सकिने रहेछ। सामान्य जस्तो लागे पनि यो निकै उपलब्धिपूर्ण हुने रहेछ । त्यसैले हामीले प्राथमिकताको साथ यस्तो खाले कार्यक्रम गरिरहेका छौं ।’