• २०८२ कार्तिक १२, बुधबार

दीपेन्द्रराज तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक प्रकाशित

काठमाडौं ।

नेपालको बैङ्किङ इतिहासलाई राणाकालदेखि हालसम्मको विस्तृत आयाममा समेटिएको पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’ बजारमा आएको छ । मोरङ, पथरी शनिश्चरे–१ निवासी अनुसन्धानकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाद्वारा लेखिएको यस पुस्तकमा नेपालको बैङ्किङ प्रणालीको सुरुवातदेखि हालसम्मका ८८ वर्षे यात्रालाई दस्तावेज गरिएको छ । पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालमा वेलायतबाट फर्केर पहिलो पटक नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैंकिङ क्षेत्रका अग्रदूत विके श्रेष्ठ, विदेशी बैंक भित्र्याउने डा. प्रकाशचन्द्र लोहनी लगायतका योगदानलाई विस्तृत रूपमा समेटिएको छ ।

नेपालका क र ख श्रेणीका बैंकहरूको परिचय, पहिलो गभर्नर हिमालय शमशेरदेखि हालका विश्वनाथ पौडेलसम्मका १८ जना गभर्नरका फोटोसहितका जीवनी, द्वन्द्वकालमा बैंकमाथि भएका आक्रमण, बैंक मर्जरको इतिहास, भुक्तानी प्रणाली, कानुनी व्यवस्था, विपत्तिका समयमा बैंकहरूको सहयोग, महिला सहभागिता, खारेज भएका बैंकहरू तथा चिनियाँ ह्याकरले मच्चाएको लुटपाटजस्ता महत्वपूर्ण प्रसङ्गहरू पुस्तकमा समेटिएका छन् । साथै, लिच्छविकालदेखि नै प्रयोगमा आएका मुद्राहरू, भोजपुरको टक्सारको इतिहास, पूर्वी नेपालमा स्थापना भएका बैंकहरू, डेपुटी तथा कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनाको भूमिका तथा बैंकिङ क्षेत्रमा कार्यरत संघ–संस्थाहरू समेत समेटिएको छ। कुल ५१ वटा विषयमा आधारित यो पुस्तक २७२ पृष्ठ लामो छ ।

पुस्तकमा जेन–जि आन्दोलनको समयमा नेपाली बैंकहरूले भोग्नुपरेको क्षतिको विषयमा समेत खोजमूलक विवरण प्रस्तुत गरिएको छ। पुस्तकलाई झापा दमकस्थित स्रष्टा छापाखानाले मुद्रण गरेको हो भने लिला निरौला प्रकाशक रहनुभएको छ । यो तिम्सिनाको १४औँ कृति हो । उहाँले विगत एक दशकदेखि निरन्तर खोजमूलक पुस्तक लेखन गर्दै आउनुभएको छ । उहाँका अन्य चर्चित कृतिहरूमध्ये टेलिफोन डायरी (२०६८), मोरङका सामुदायिक वन एक चिनारी (२०६९), जेसीज दस्तावेज, धिमाल जातिको इतिहास, इतिहासमा पथरी शनिश्चरे, माइखोलादेखि पुनर्वाससम्म र गुमनामः एक इतिहास बिसे नगर्ची उल्लेखनीय छन् ।

नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश कोइरालाले पुस्तकले नेपालको बैंकिङ इतिहास बुझ्न महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभएको छ ।