वसन्तवेला
कालेबुङ ।
शनिबारका दिन कालेबुङस्थित गोर्खा दुःख निवारक सम्मेलन भवनमा कवि राकेश क्रान्तिकारीको पहिलो कविता सङ्ग्रह ‘अनाम प्रेमिका’ विमोचन गरिएको छ। कार्यक्रममा विभिन्न साहित्यिक संस्था, महाविद्यालय, बौद्धिक वृत्त तथा नेपाली साहित्यका पाठकहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सुरुवात कविता वाचनबाट गरिएको थियो। कवि भूमिका राई, प्रणय दाहाल, एकान्त प्रेमी, पुकार पारदर्शी, र मनोज बोगटीले उत्कृष्ट कविताहरू वाचन गर्दै कार्यक्रमको वातावरण साहित्यिक बनाउनुभएको थियो ।
प्रकाशित सङ्ग्रहमाथि कवि सुधीर छेत्री र टीका भाइले छोटा तर गहकिला टिप्पणी गर्नुभएको थियो । प्रकाशक छेवाङ योन्जनले पुस्तक प्रकाशनका पछाडिका प्रसंगबारे रोचक धारणा प्रस्तुत गर्नुभएको थियो । सङ्ग्रहको औपचारिक विमोचन कवि भिमा राई तोलछा, कवि योगिता राई, कवि सुधीर छेत्री, र कथाकार एवम् प्राचार्य सन्जय विष्ट र स्वंयम कविले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रमको समापन प्राचार्य सन्जय विष्टले “भाषाको भाष्य” शीर्षकमा गहकिलो मन्तव्य राख्दै गर्नुभएको थियो । उहाँले नेपाली भाषाको समृद्ध साहित्यिक परम्परामा यस्ता नयाँ कृतिहरूले नयाँ दृष्टि र उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
