• २०८२ कार्तिक १४, शुक्रबार

विस्फोटपछिको शून्यतामा आवाज’ नामक कवि गोष्ठी सम्पन्न

काठमाडौँ

वर्तमान कविता समूह र अरनिको नाट्यशालाले ‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक कवि गोष्ठी गरेको छ । कैलाश चौर, पशुपतिमा भएको कार्यक्रमको सञ्चालन कवि रमी प्रियाले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि रामगोपाल आशुतोषले आफ्नो उमेरको आधा समय नकटेको समयसित, रजनी मिलाले ‘आमा न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु’, विना नेम्कुलले ‘द्वन्द्व’ र विश्व सिग्देलले ‘जुनकीरी र आगोको किस्सा’ कविता वाचन गरेका थिए ।

त्यस्तै कमलराज केसीले ‘प्रश्न आफैंसँग’, देवकी तिमल्सिनाले ‘उमार्नु छ दुबो’, सुरेश गाउँलेले ‘घरसँगै भत्केको मन’, राधिका कल्पितले ‘के मलाई तिमी विना बाँच्ने बानी पर्ला’, सञ्जय सुमनले ‘नाटकभित्र अर्को नाटक किन ?’, श्रीराम दाहालले ‘तिमी र म’, शैलेन्द्रप्रसाद सिग्देलले ‘चेतना’, कञ्चन जि.आर.ले ‘फेरि नउभ्याऊ कारागारमा मलाई’, रोमा लम्सालले ‘खरानीको चीत्कार’, एमपी पान्डेले ‘भयो चैं के ?’, ध्रुव गजुरेलले ‘सोचाइ’ र गजेन्द्र बोहोराले ‘बा’ शीर्षकका कविता वाचन गरेका थिए ।

गोष्ठीमा कविहरूले समाजमा देखिएका अन्योल, बेथिति, विरोधाभास, सामयिक पीडा जस्ता विषय कविता मार्फत उजागर गरेका थिए । उक्त अवसरमा वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देलले समूहले समसामयिक र सिर्जनात्मक विषयमा केन्द्रित कार्यक्रम गर्दै आएको बताए ।