कसले पोत्यो होला
समयको क्यानभासमा विभेदको रङ
भूगोलको कुनकुनाबाट सुरू भयो होला यो शृङ्खला
कुन हातले लेख्यो संविधानमा असमान धारा
कुन मस्तिष्कले स्वीकार्यो दूषित भिन्नताको दायरा
कसरी बदलियो होला ढुङ्गेयुगको सम्प्रभु
अमिल्दा ढाँचाहरूमा ?
‘तिमीले त्यहाँको संसार सजाउनुपर्छ
तिमीले त्यहाँ खुसी हुनुपर्छ’
आमाको फुसफुसाइ मेरो कानको छेउ प्रतिध्वनित हुँदा
उफ !
अत्यासमा बगेको थियो आँखाबाट
अन्तर्मनको आँधीहुरी
अन्ततः
म हुत्तिएर पुगिसकेकी थिएँ अर्काको फाँटबारीमा
धेरै पर बगिसकेकी थिएँ
बगरैबगरको बाटो
अब मेरो वर्तमानको निर्णायक
मेरो सपनाको अधिकारी अरू नै छ
आफू हुर्किएको माटो आफ्नो भएन
मैले छुन चाहेको क्षितिज अझै टाढा गयो
बुझेकै छैन
किन अँटाइनँ ‘म’
आफ्नै जन्मभूमिको अनुपम काखमा
कति लामो होला यो लैङ्गिक दूरीबीचको आयतन
विभेदको नियम नलेखिएको शास्त्रलाई
अतिरञ्जित गर्दैछ कसले
उपेक्षाको सामूहिक हस्ताक्षर
संविधानको धाराहरूमा कहिलेसम्म मेटिँदैन !!
आफ्नै मायालु आँगनमा
फुल्दैन अचेल मनको सयपत्री
चल्दैन वसन्तको सिरसिर
गिज्याएझैँ लाग्छ बारीमै फुलेका तोरीका बोटहरूले
देख्दैछु पोखरीको डिलमा चरिरहेको गाईले झारेका आँसुमा
मेरो नियतिको घुम्तीशिविर
म तिमीजस्तै भावना भएको मान्छे हुँ
वर्षौं भयो तिमीसँग यसै गरी हारिरहेको छु
र बगिरहेको छु आँसुको नदीसँगै !
मलाई थाहा छैन
कुन शताब्दीमा समाहित हुन्छ
तिम्रो र मेरो अस्तित्वको समुद्र
कुन युगमा मान्छेले स्वरूप लिन्छ
केवल मान्छेको
मन र मस्तिष्कको यस लडाइँमा
तस्बिर खिच्ने समयले कहिले
उतार्छ होला समानताको तस्बिर
र मेटाउँछ यो धर्तीको भोक !
(वर्षा चर्चित कवि तथा साहित्यकार हुन्)
[email protected]