• २०८३ बैशाख २५, शुक्रबार

एउटा क्रान्ति योद्धाको मृत्युमा

राजेश ढुंगाना

राजेश ढुंगाना

हो
एउटा क्रान्ति योद्धाको मृत्यु त
यात्राको शुरुवात हो
जीवनको
ऊ मरयो, मरयो र
जसलाई मार्ने
तिम्रो जीवनभरिको
असम्भव सपना थियो

तिमीलाई
चिच्याई चिच्याई
भन्छु दुत्कार्दै
कि एउटा
क्रान्तिपुरुषको मृत्यु त
यात्राको समाप्ति होइन
शुरुवात पो हुन्छ
अनन्त जीवनको

तिमीले
उसलाई मार्न
२००७ फागुन ७ लाई
पात्रोबाट
सधैं सधैंका निम्ति
हटाउन सक्नु पर्छ
सैनिकका
संगीनले सबैलाई
मार्न सक्दैन
मान्छेका मनमा
यो सृष्टि रहुञ्जेल
बसिसकेको
उसलाई मार्न
आस्था र विश्वासलाई
मार्न सक्नु पर्छ
मान्छेको मन र मुटुमा
त्यसैले
म निर्धक्क भन्न सक्छु
ऊ बाँच्छ
युग–युगसम्म
नेपाली मुटुको धड्कन भएर
तानाशाहहरुको लागि
मृत्युको
निमन्त्रणा भएर
हो,
एउटा क्रान्तियोद्धाको
मृत्यु त
उसले थालेको
यात्राको
समाप्ति होइन
नयाँ यात्राको शुरुवात हो
कहिले नसकिने
नयाँ र थप यात्राको


(प्रस्तुत कविता जननायक बी.पी. कोइरालाको निधन भएको दिन २०३९ साल साउन ६ गते लेखिएको हो)