• २०८१ असोज २९ मङ्गलबार

तिमी र म अनि हाम्रो प्रेमको कथा

वसन्त श्रेष्ठ

वसन्त श्रेष्ठ

तिमीसँग भेटिनु के थियो
तिम्रो र मेरो माया साटिनु नै त थियो
ओठभरि प्रेमको आग्रह मुस्कुराइरहेथ्यो
आँखाभरि प्रेमको याचना मागिरहेथ्यो
म निश्चिन्त अडिग बनेर
तिम्रो आग्रहलाई स्विकारिरहेँथे !
तिमीसँग भेटिनु के थियो
हाम्रो माया साटिनु नै त थियो
म निर्लिप्त तिम्रो दिव्य अनुहारभरि छाइरहेँ
तिमी चन्द्रमा बनेर शीतलताको आभास दिइरह्यौ
अथाह समुद्रको गहिराइजस्तो
तिम्रा लयालु आँखाहरूले मसँग नुहाइरह्यौ
म तुफानबीचको समुद्री- लहरहरूझैँ बनेर
तिमीलाई डुबुल्की मार्न भरोसा दिइरहेँ
प्रेमको नदीमा तिमी चुर्लुम्म डुबिरह्यौ
म मायाको सागरभित्र डुबुल्की मार्दैरहेँ
जोडजोडसँग सागरको छालहरूले हामीलाई हल्लाइरह्यो
म किनारा भेट्ने उत्सुकताले वेग मार्दै पौडिरहेँ  !
हामी एक अर्काप्रति आत्मसात् गर्दै
एक अर्काप्रति एकाकार बन्दै
मायाका पर्खालहरूलाई भत्काउँदै
मायाका सारा सङ्कोच पार गर्दै
अजस्र मायाका छालहरू एक अर्काप्रति छ्याप्दै
निर्लिप्त एकाकार बन्दै सागरको छालसँगै डुब्दै- उत्रँदै रह्यौँ

कुनै कोलाहलसँग बेखबर बन्दै
कुनै चिन्ताप्रति मुक्त बन्दै
हामी एक अर्काप्रति प्रेमको प्रसाद बाँड्दै रह्यौँ
कहिले तिमी नौलो अनुभूतिको त
कहिले उत्सुकताको गीत गुनगुनाइरह्यौ
कहिले तिमी मायाका खुसीका वेदना त
कहिलेमीठो सुरेली सुस्केराहरू सुसेली रह्यौ
म मायाका गतिहरू बेत्तोडसँग बर्साइरहेँ
तिमी मायाका रसहरू पिउँदै तृप्त बन्दै गयौ
अनि तिमी सुन्दर मुहारभरि छरिएका
ती घनिभूत केशराशिलाई
सुरिला लामालामा ती औँलाहरूले सम्हाल्दै
मप्रति हेर्दै मुसुक्क मुस्कुरायौ !
अनि हामी प्रेमको सागरको किनारमा
बेफिक्रीसाथ भविष्यसँग बेखबर बन्दै
कताकता हराइरह्यौँ  !


भर्जिनिया,अमेरिका
[email protected]