• २०८२ कार्तिक ४, मंगलवार

राधिका अर्यालको ‘अङ्कुर’ कवितासङ्ग्रह विमोचन

स्याङ्जा ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सव तथा स्व. त्रिभुवन अर्यालको ११औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजित विशेष साहित्यिक समारोहमार्फत कवि राधिका अर्याल (राधा) को पहिलो कविता सङ्ग्रह ‘अङ्कुर’ को विमोचन तथा विमर्श सम्पन्न भएको छ। साथै, यसै अवसरमा ‘त्रियासी साहित्य साँझ–२०८२’ पनि भव्य रूपमा सम्पन्न गरिएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजन तथा प्रतिभा जागरण केन्द्र, वालिङ–१, त्रियासीको आयोजनामा भएको उक्त कार्यक्रम स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्वको रूपमा लिइएको छ। समारोह वालिङस्थित त्रियासी कृषि उपज सहकारीको प्राङ्गणमा सम्पन्न भएको थियो ।

कार्यक्रम कविको आमा पार्वती अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा साहित्यकार देवीप्रसाद वनवासी उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट आमन्त्रित व्यक्तित्वका रूपमा मोहन रेग्मी र वालिङ नगरपालिकाकी उप–प्रमुख कविता तिवारी सहभागी हुनुहुन्थ्यो । ‘अङ्कुर’ कवितासङ्ग्रहको विमोचन कवि स्वयम् राधिका अर्याल, प्रमुख आमन्त्रित व्यक्तित्व तथा वक्ताद्वय दीपक लम्साल र विष्णु सुवेदी गैह्रेले संयुक्त रूपमा गर्नुभएको थियो। त्यसपछि वक्ताद्वय सुवेदी र लम्सालले कविता सङ्ग्रह र कवि राधिकाको सिर्जनात्मक यात्रामाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

कवि राधिका अर्याल (राधा) काठमाडौँमा जन्मिएर स्याङ्जामा हुर्कनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक र टोरोन्टो मेट्रोपोलिटन विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालमा २१ वर्षे सेवा पश्चात हाल ओन्टारियो, क्यानडामा नर्सिङ व्यवस्थापकका रूपमा कार्यरत रहँदै सिर्जनामा सक्रिय हुनुहुन्छ । ‘अङ्कुर’ कवितासङ्ग्रहमा ५६ वटा समसामयिक विषयवस्तुमा आधारित कविता समावेश छन्। पुस्तक कवि स्वयंले प्रकाशित गरेको हो भने भाषिक सम्पादन मिलन समीरले गर्नुभएको हो । सानै उमेरदेखि साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने अर्यालका थुप्रै रचनाहरू स्वदेश–विदेशका पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा किशोर अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवा कवि मिलन समीरले गर्नुभएको थियो भने शार्दुल अर्यालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको दोस्रो चरण ‘त्रियासी साहित्य साँझ–२०८२’ मा स्याङ्जाली सशक्त स्रष्टाहरू प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, वसन्त खनाल, शम्भु अर्याल, पूजा रेग्मी, लेखनाथ काफ्ले, शोभाकान्त रेग्मी, ढालबहादुर के.सी., खगेन्द्रजंग थापा, पारिश्वर न्यौपाने, राधिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सागर काफ्ले, सरस्वती अर्याल काफ्ले, डालकुमारी रेग्मी, दमकुमारी बगाले लगायतले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गर्नुभएको थियो । समारोहमा प्रमुख आमन्त्रित देवीप्रसाद वनवासीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।