फ्याँकिदेऊ ती जडेउरी सोचहरू
बङ्गालको खाडीमा बगाईदेऊ
हुत्याईदेऊ परसम्म पुग्ने गरी
प्रसान्त महासागरमा डुबाईदेऊ
भुलि देउ ती आफ्ना थिए
“आफ्नो भनेको आफ्ना थिए“ !
तर केवल “आफ्नो“ भनेरै
मरेर सड्न लाग्या सिनु
काँधमा बोकेर हिँड्न मिल्ला र !
आफुलाई दुर्गन्ध हजम भए पनि
दुनियाले नाक थुनेको थाहा छैन ?
छ्यान्द्रै छ्यान्द्रा भएका ती लुगा !
न पानी छ न साबुन छ
ह्वास ह्वासी केवल दुर्गन्ध छ
छिःपरैबाट गन्हाउँछ !
छिःछि र दुर दुर भएको छ
अब पनि तीनैले आङ ढाक्ने हो ?
अझै पनि ती नै
रूढ़ीवादी सोचलाई अँगाल्ने हो ?
तिमी त तिमीनै हौ नि !
कति राम्रा मान्छे छौ तिमी !
कति राम्रो संस्कार तिमी भित्र छिपेको छ
तर तिमीले बारम्बार
ती संस्कारहरूको चीरहरण गरेका छौ
त्यति मात्र हो र !
जसले जे भन्यो
जसले जे गर्यो
अन्धानुसरण गर्दै
के थियौ ? के भयौ अहिले ?
थाहा छ के तिमीलाई ?
अहिले जे छौ
फर्केर केही पछि जाऊ त
थाहा पाउँछौ तिमी के थियौ
अहिले के भयौ !
ज्ञान- विज्ञान, धर्म- कर्म सबैको मुहान
थाहा छैन होला तिमीलाई !
तिम्रै पुर्खा थिए, श्रेष्ठ थिए
शुद्ध संस्कार, शुद्ध विचारका प्रतिपादक
तिम्रै पुर्व पुरूष थिए
उनीहरूले एउटै ईश्वर
एकै चराचर, एकै आत्माराम भने
कुसंस्कार अनि अन्धविश्वास
समाजका शत्रु भने
मानवै हुन् देव भने
मानवलाई मानवका शत्रु ठान्न कहाँ सिकाए ?
मानिसले मानिसलाई अछुत मान्न कहाँ देखाए ?
मिथ्या आडम्बर अनि अन्धविश्वासमा मोहग्रस्त भई
विशुद्ध मानवता कलुषित पार्न
कहाँ सिकाए ?
यति सुन्दर काया भित्र
यौटा कलङ्कित मन् बोकेर हिँड्न
भन त तिमीलाई कहिले अह्राए ?
अर्जुन उप्रेती “अप्रतिम“