• २०८२ कार्तिक २, आईतवार

सुबिन भट्टराईको साँतौ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पित

काठमाडौं, असोज ३१ ।

रोमान्टिक उपान्यासहरूका माहिर कारिन्दा चर्चित लेखक–उपन्यासकार सुबिन भट्टराईको सातौं कृतिको रूपमा ‘चमेलीको फूल बैजनी रुमाल’ लोकार्पित भएको छ । प्रज्ञा प्रतिष्ठानको डबली शुक्रबार आयोजित लोकार्पण समारोह सधैंझैं यस पटक पनि उनको पुस्तक भिन्नै अन्दाजमा लोकार्पण गरिएको छ । भट्टराईका एक प्रशंसक र पाठक रहेकी भरतपुर चितवनकी रश्मिला थापा र लेखकले सो पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणकै लागि उनी भरतपुरबाट आइपुगेकी हुन् ।

पुस्तक लोकार्पणपछि लेखकले सबभन्दा पहिले जेन्जी आन्दोलनमा मारिएका नव युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दैभने, ‘रगत आलै छ, महिना दिन अघि जे भोग्नु पर्यो त्यस्तो कहिल्यै नहोस् र यस मुलुकले लोकतान्त्रिक लय समातोस् ।’ उनले भने, ‘रहरैरहमा लागेको साहित्य कर्म कहिले हरप्रहरको भयो पत्तै भएन । यो मेरो स–साना आवश्यकतालाई सम्बोधन गरिदिने साधन बनिदियो । लेखन मेरो अभिन्न भयो र म प्रियजनका धनी भएँ ।’

कथा संग्रहको रूपमा आएको सुविन भट्टराईको सातौं कृतिमा सातवटा कथा संग्रहित रहेको छ । भट्टराईले भने, संग्रहको नाम बैजनी भएपनि यसमा सातैवटा रंगको छिटा रहेको र यसका पात्रहरू आ–आफ्नै रंगमा रंगिएका छन् । उनले भविष्यमा सयै संग्रहबाट कुनै न कुनै कथामा सिनेमा बनाउँने जिकिर गरे ।

सुबिन भट्टराई सर्वाधिक रुचाइएका लेखक हुन् । जसको छनक आज पनि देख्न सकिन्थ्यो । युवा पुस्ताले प्रायः डबली भरिभराउ थियो । उनक कृतिहरू कथाकी पात्र, समर लभ। साया, मनसुन, प्रिय सुफी र इजोरिया बेस्ट सेलरको कृतिमा पर्छन् । पुस्तक फइनप्रिन्टले प्रकाशन गरेको हो ।