• २०८२ कार्तिक १, शनिबार

‘पुतली बाजे’को जीवनीमूलक पुस्तक ‘बटरफ्लाई ग्र्यान्डड्याड’ सार्वजनिक

पोखरा ।

नेपालका पुतली अनुसन्धान र संरक्षण क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको कलीन स्मिथ (पुतली बाजे) को जीवनयात्रामा आधारित पुस्तक ‘बटरफ्लाई ग्र्यान्डड्याड’ (Butterfly Granddad) पोखरामा लोकार्पण गरिएको छ । बेलायती लेखक पिटर वायन द्वारा लिखित उक्त पुस्तक पोखरा युवा सांस्कृतिक परिवार (पोयुसाप)को आयोजनामा सार्वजनिक गरिएको हो । कार्यक्रममा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार सरुभक्त, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्जजोन, लेखक पिटर वायन लगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

पोयुसापकी अध्यक्ष रिता अधिकारी (रितु) ले पुतली बाजेले नेपालका लागि पु¥याएको योगदानलाई स्मरण गर्दै पुस्तक लोकार्पण गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले पोखरालाई कर्मक्षेत्र बनाउनुभएको स्मिथको जीवनी सार्वजनिक गर्ने अधिकार पोयुसापलाई रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल ले पुस्तकबारे विस्तृत जानकारी दिँदै पिटर वायनले लेखेको कृति ११ अध्यायमा विभाजित रहेको बताउनुभयो । पहिलो खण्डमा स्मिथको प्रारम्भिक जीवन, शिक्षा–दिक्षा र जीवनशैली समेटिएको छ भने पुस्तकमा नेपाल यात्रा, पहिलो काठमाडौं अनुभव, अध्यापन पेशा, पुतली संग्रहालय (म्युजियम) स्थापनाको कथा, पुतली अडिट यात्रा वृत्तान्त तथा उहाँका व्यक्तिगत पत्र–इमेलहरू समेत पढ्न सकिन्छ । साथै, स्मिथले संकलन गरेका पुतलीहरूको विस्तृत दस्तावेजीकरण पनि पुस्तकमा समावेश गरिएको छ ।

कार्यक्रमको क्रममा पौडेलले भावुक हुँदै भन्नुभयो, “केही मान्छेहरू हुन्छन्, जो संसारिकता छोडेर पुतलीकै दुनियामा हराउँछन् । पुतलीसँग खेल्दा खेल्दै आफैं पुतली बनेका कलीन स्मिथलाई आज हामी फेरि सम्झिरहेका छौं ।” उहाँका यी शब्दहरूपछि हल तालीको गड्गडाहटले गुञ्जिएको थियो ।बेलायतमा जन्मिएर नेपाललाई कर्मभूमि बनाउनुभएको स्मिथको करिब दुई वर्षअघि निधन भएको थियो । जीवनको उत्तरार्धमा उहाँले नेपाली नागरिकता लिएर नेपालमा पुतलीको खोज, अनुसन्धान र शिक्षणमा लामो समय बिताउनुभएको थियो । उहाँका विद्यार्थीमध्ये डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो भने डा. उपेन्द्र देवकोटा प्रख्यात चिकित्सक बन्नुभयो ।

कार्यक्रममा सरुभक्त, जर्जजोन, लेखक पिटर वायन, साहित्यकार रमेश श्रेष्ठ, पुस्तक लेखन सहयोगी सुरेन्द्र श्रेष्ठ, कपिलदेव थापा, पुतली संकलन सहयोगी सुरेन्द्र परियार लगायत वक्ताहरूले पुस्तकले ‘पुतली बाजे’ को योगदानलाई अमर बनाउने कार्य गरेको धारणा व्यक्त गर्नुभयो । पुस्तक ‘बटरफ्लाई ग्र्यान्डड्याड’ नेपाली शिक्षा, इतिहास र जीवविज्ञानमा चासो राख्ने पाठकका लागि एक महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत भएको छ ।


‘भ्रम’

भरिया