• २०८२ आश्विन २८, मंगलवार

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार’ प्रा. डा. वासुदेव त्रिपाठीलाई

काठमाडौं ।

नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई समर्पण गरियो । २०३९ सालदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै २०४६ सालदेखि नेपाली साहित्यमा राष्ट्रिय स्तरमा योगदान गर्ने एकजना साहित्यकारलाई पछिल्लो समयमा रु.२१,१००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’ र रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको थियो ।

विख्यात समालोचक, सशक्त कवि, निबन्धकार एवम् चिन्तक गोविन्द भट्टका नाममा कुनै पुरस्कार तथा सम्मान स्थापना नभएको हुँदा साहित्य सन्ध्याका परिकल्पनाकार, वरिष्ठ साहित्यकार, प्राध्यापक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा नेपाली समालोचना, दर्शन, निबन्ध र कवितामध्ये कुनै एक विधामा सशक्त रूपमा कलम चलाइरहेका एकजना साहित्यकारलाई रु.५०,०००।–(पचास हजार) राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ यसै वर्षदेखि प्रदान गर्नेगरी अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएअनुसार यस वर्षको उक्त पुरस्कार तथा सम्मान समग्र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनुका अतिरिक्त समालोचना विधामा अतुलनीय योगदान पुर्याउनुभई महासमालोचकको उपाधि प्राप्त गर्नुभएका विशिष्ट साधक प्रा.डा.वासुदेव त्रिपाठीलाई आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको विशिष्ट समारोहमा अर्पण गरियो ।

नेपाली साहित्यका शिखर व्यक्तित्व बैरागी काइँलाको प्रमुख आतिथ्य र नेपाली साहित्य, संस्कृतिका शिखर व्यक्तित्व र नेपाली राजनीतिसमेतका कुशल अभियन्ता डा.मोदनाथ प्रश्रितको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोह साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले र उपस्थित विशिष्ट व्यक्तित्वहरूको स्वागत सन्ध्याकी सचिव जयन्ती स्पन्दनले गर्नुभएको थियो । समारोहमा गङ्गाप्रसाद उप्रेती र पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ माया ठकुरी, प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’, प्रा. डा. माधवप्रसाद पोखरेल, त्रि. वि. नेपाली केन्द्रीय विभाग प्रमुख प्रा. डा. कृष्णप्रसाद न्यौपाने, प्रा. डा. नारायण सङ्ग्रौला, प्रा. केशव सुवेदी, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. ऋषिराम शर्मा, प्रा. डा. मुकेश चालिसे, गोविन्द भट्टकी सुपुत्री डा. लुना भट्ट, साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, वासुदेव अधिकारी र विधान आचार्य, नेपाली पत्रकारितामा महारथी उपाधिप्राप्त गोपालप्रसाद थपलिया, प्राज्ञ विष्णु प्रभात, पूर्व न्यायमूर्ति एवम् साहित्यकार शेषराज सिवाकोटी, अग्रज स्रष्टाहरू कृष्ण बाउसे, रामबहादुर पहारी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्राज्ञ नर्मदेश्वरी सत्याल, पूर्वराजदूत विष्णुहरि नेपाल, वरिष्ठ स्रष्टा कविता पौडेल, राजनीतिज्ञ डा.विजय पौडेल, भाषा आयोग सदस्य मातृका पोखरेल, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा साहित्यकार अनिता लामा, प्रयागराज वाशिष्ठ, प्राज्ञ नमुना शर्मा, साहित्यकार पोषरमण चापागाईँलगायतको उपस्थिति रहेको थियो ।

उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरूलाई खादा लगाएर अध्यक्ष तथा सचिवले सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि बैरागी काइँलाले पानसमा बत्ती प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिले नै गोविन्द भट्टको तस्बिरमा माल्यार्पण गरी सम्मान गर्नुभएको थियो भने राष्ट्रगान बजाएर राष्ट्रको वन्दना गरिएको थियो ।

वरिष्ठ चिन्तक, समालोचक, कवि तथा निबन्धकार गोविन्द भट्टको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै प्रा.डा.हेमनाथ पौडेलले गोविन्द भट्ट नेपाली साहित्यका चारैओटा विधामा सशक्त रूपमा कलम चलाउने शिखर व्यक्तित्व हुनुका अलावा राजनीतिक क्षेत्रमा पनि गुरु व्यक्तित्व बन्नुभएको छ । वि.सं.१९९४ साउन ३ मा रौतहटमा जन्मेका गोविन्द भट्ट साहित्यिक, सांस्कृतिक व्यक्तित्व मात्र होइन माक्र्सवादी चिन्तकसमेत हुनुहुन्छ । उच्च, उदात्त व्यक्तित्व हुनाका अतिरिक्त भावनाले मात्र माक्र्सवादी नबनेका सम्मानित वयक्त्त्वि पनि हुनुहुन्छ । विशिष्ट अध्यता, सरल स्वभाव, सादगी व्यवहार हुँदाहुँदै पनि आफूलाई भित्र लागेपछि कठोर रूपमा अभिव्यक्त गर्ने; अङ्ग्रेजी, नेपाली, नेवारीलगायत बहुभाषाका ज्ञाता; ब्राह्मण परिवारमा जन्मिएका र हजुरबुबाको संस्कृत पढाउने इच्छाविपरीत गौरको विद्यालयमा आधुनिक शिक्षा प्राप्त गरी बनारसबाट आई.ए.र बी.ए.उत्तीर्ण अनि लखनउ विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेपछि २०१८ सालमा धरानकी इन्दिरा पुरीसँग अन्तरजातीय विवाह गरेपछि परिवारले अस्वीकार गरेको, उता लखनौ विश्वविद्यालयबाट छात्रवृत्तिमा तीन वर्षमा सक्नेगरी विद्यावारिधि गरिरहनुभएको भए पनि समयमा अलि नसकिएको र समयावधि थप नभएपछि विद्यावारिधि पूरा हुनसकेन । नेपालमा आएपछि रासस, नेपाल चीन मैत्री सङ्घ, अफ्रो एसियाली सङ्घमा काम गर्नुका साथै चीनमा रेडियो पेकिङमा ८ वर्ष काम गरेर स्वदेश फर्केपछि छोरीहरू लुना र शिशीरले धरानमा पढेर एसएलसीमा सर्वोत्कृष्ट नतिजा ल्याएका ।

यसै अवधिमा प्रगतिशील लेखक सङ्घ नेपालको अध्यक्ष, सगरमाथा दैनिक र एभरेस्ट हेराल्ड पत्रिकाका प्रधानसम्पादकका रूपमा, गोरखापत्रका अध्यक्षका रूपमा काम गर्नुभएको भए पनि उहाँमा पदलोलुपतछिल्लो समयमा लेखनमा केही निष्क्रिय देखिनुभएको पाइन्छ । २००८ सालका कविता छपाएर नेपाली साहित्यमा प्रवेश गर्नुभएका उहाँका ‘शान्ति सन्देश’ कवितासङ्ग्रह, ‘गोविन्द भट्टका समालोचना’जस्ता कृतिहरू प्रकाशित भएका छन्, अन्य कृति पनि प्रकाशोन्मुख अवस्थामा छन् । गोविन्द भट्ट नेपालका सुप्रसिद्ध माक्र्सवादी चिन्तक मात्र नभएर देश र जनताको वस्तुस्थिति बुझेर विचार निर्माण गर्ने, परम्परागत व्याख्याले हुँदैन भनेर मदन भण्डारीलाई सल्लाहसमेत दिएका कारण जनताको बहुदलीय जनवाद ल्याइएको भनिएको, जहिल्यै पनि राष्ट्र र राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने भट्ट धेरै विज्ञहरूसमेतका प्रेरणाका स्रोत मानिनुहुन्छ । उहाँका रचना वस्तुपरक, गम्भीर र गहन छन् । लागेका कुरा निर्धक्क राख्ने अत्यन्त निर्भीक समालोचक भए पनि लेख्दा, बोल्दा अत्यन्त शालीन, नम्र, शिष्ट तर विचारमा कठोर उहाँका छोरीहरू डा.लुना भट्ट हालै अमेरिकाबाट स्वदेश फर्कनुभएको छ भने अर्की छोरी शिशीर इन्जिनियर हुनुहुन्छ भन्नेसमेतको चर्चा गर्नुभयो ।

विख्यात स्रष्टा गोविन्द भट्टको नामबाट स्थापित पुरस्कार तथा सम्मान प्राप्त गर्नुहुने प्रा.डा.वासुदेव त्रिपाठीलाई छनोट गरिएका आधार तथा उहाँको व्यक्तित्वसमेतमाथि प्रकाश पार्नुहुँदै स्रष्टा चयन समितिका संयोजक प्रा.जगत उपाध्याय ‘प्रेक्षित्’ले साहित्यक एवम् वैचारिक पाठशालाको रूपमा क्रियाशील रहिरहेको साहित्य सन्ध्यासँग सहकार्य गरी नेपाली प्रगतिवादी साहित्यका, दर्शनका शिखर व्यक्तित्वको सम्मान तथा सम्झनामा स्थापना भएको पुरस्कार तथा सम्मान अर्पणको परिपाटी पनि शीर्षस्थबाटै सुरुवात गरौँ भन्ने मान्यता स्थापित गरियो । यो पुरस्कार समालोचना, दर्शन, कविता तथा निबन्ध गरी चारैओटा विधामा पालैपालो अर्पण गर्दै जाने भन्ने मान्यतालाई पनि स्थापित गर्ने सहमति कायम गरी यस वर्षका लागि नेपाली भाषा, साहित्यका क्षेत्रमा र त्यसमा पनि समालोचनाका क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका शिखर व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीलाई यो वर्ष सम्मानित गरेर पुरस्कारको थालनी गर्नुपर्छ भन्ने कुरामा हामी सहमत भयौँ । गोविन्द भट्ट र वासुदेव त्रिपाठीको एउटै उद्देश्य नेपाल राष्ट्र र नेपाली भाषाको उन्नयन हो । आठ वर्षकै उमेर आमा गुमाउनुपर्दाको पीडा कवितामा अभिव्यक्त गर्ने त्रिपाठी २०१६ सालमा काठमाडौँ आउनुभयो, २०२२ सालमा बनारसबाट व्याकरणाचार्य र २०२४ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर सकेपछि सिङ्गो जीवन प्राध्यापनमा, नेपाली केन्द्रीय विभागको प्रमुखका रुपमा पटक पटक काम गर्नुभएका उहाँ हाल नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत हुनुहुन्छ ।

२०१८ सालदेखि नै समालोचकका रूपमा परिचित उहाँ नै नेपाली साहित्यमा विध्यावारिधि गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ । नेपाली समालोचनाका क्षेत्रमा उहाँ मानक व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ एक करोड शब्दको शब्दकोश एकता प्रकाशनसँगको सहकार्यमा तयार पारिरहनुभएको छ । उहाँले धेरैभन्दा धेरै कृतिमा अत्यन्त गहन भूमिका लेख्नुभएको छ । नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका आधिकारिक विद्वान, ज्ञानका महासागर उहाँले सबै सबै विचार र क्षेत्रमा समालोचना गर्नुभएको छ । शोधपरक समालोचनाका प्रवर्तक उहाँ योजनाबद्ध तरिकाले काम गर्ने व्यक्तित्व हुनुहुन्छ । पञ्चायतकालमा समेत त्रि.वि.मा स्वच्छन्दतावादी प्रगतिवाद भनेर प्रगतिवादी रचनालाई पाठ्यक्रममा राख्ने महत्त्वपूर्ण काम उहाँले गर्नुभएको छ । एकजना शिखर व्यक्तित्वका नाममा स्थापित पुरस्कार अर्का शिखर व्यक्तित्वलाई दिनु सर्वथा उपयुक्त हुन्छ भनेर हामीले गरेको सिफारिसलाई साहित्य सन्ध्याले कार्यान्वयन गरेकोमा धन्यवादसहित पुरस्कृत शिखर व्यक्तित्वमा हार्दिक बधाइ एवम् आभार प्रकट गर्दछु । यस्तो गहन पुरस्कार स्थापना २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गर्दै सभाध्यक्ष राम विनयले माल्यार्पण गर्नुभयो, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाएर सम्मान गर्नुभयो भने प्रमुख अतिथि बैरागी काइँलाले रु.पचास हजार राशि तथा सममानपत्र अर्पण गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली साहित्यका समालोचना, निबन्ध, कविताका अतिरिक्त दर्शनका विषयमा विशिष्ट ज्ञान राख्ने अत्यन्त बौद्धिक व्यक्तित्वका नाममा वरिष्ठ स्रष्टा गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित अनि चार दशकदेखि क्रियाशील रहेको जनस्तरको साहित्य सन्ध्याले व्यवस्थापन गरेको यो पुरस्कारबाट सम्मानित हुँदा मलाई वास्तवमै गौरवबोध भएको छ । गोविन्द भट्ट मलाई ज्यादै मन पर्ने लेखक हो । उहाँको माक्र्सवादी चिन्तनसहितको परिचर्चा मैले पटक पटक सुनेको छु र त्यो परिचर्चा सुन्दा अनि नेपालको सन्दर्भमा व्याख्या गर्ने उहाँको शैली देख्दा मलाई अत्यन्त परिपक्व पनि लागेको हो । विश्वका दार्शनिक धाराका सापेक्षतामा माक्र्सवादलाई नेपाल सापेक्ष व्याख्या गर्ने उहाँको कार्य पनि अत्यन्त सराहनीय रहेको छ । उहाँको ‘शान्ति सन्देश’ आफैँमा उत्कृष्ट काव्य हो । भट्ट माक्र्सवादी भएर पनि मानवतावादी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ । उहाँ कर्तव्यनिष्ठ र असल व्यक्तित्व हो तर विचारमा, सिद्धान्तमा भने चट्टानजस्तो अडिक । भावनात्मक आवेगमा नबग्ने प्रतिबद्ध र परिपक्व व्यक्तित्व पनि । आत्मअनुशासन उहाँको विशेषता नै हो । प्रज्ञामा सहकार्य गर्दा उहाँसँग केही महत्त्वपूर्ण काम गर्नसकिएको छ । उहाँको नेपालीमा जस्तै अङ्ग्रेजीमा पनि राम्रो दख्खल रहेको थियो । चीनका बारेमा यथार्थ जानकारी गराउनसक्ने नेपालका आधिकारिक विद्वान हुनुहुन्थ्यो भट्ट । विद्वता, जीवनआचरणका आधारमा उहाँले गरेको सत्कर्मसमेतका माध्यमबाट गोविन्द भट्ट युगयुगसम्म सम्झनुपर्ने व्यक्तित्व हुनुहुन्छ भन्नुभयो ।

विशिष्ट अतिथि एवम् पुरस्कार स्थापना गर्ने व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले गोविन्द भट्ट बितेको १४ वर्ष भएको छ । नेपाली वाङमयका शीर्षस्थ व्यक्तित्व गोविन्द भट्टसमेतबाट साहित्य सन्ध्याले सार्थक र ऊर्जापूर्ण विचार ग्रहण गरेको र सोहीसमेतका आधारमा सामाजिक रूपान्तरण अभियान चलाउने काम गरेको हो । भट्ट साहित्यिक व्यक्तित्वका अलावा नेपालको भूराजनीतिक जटिलता बुझेर समाजशास्त्रीय रूपमा नेपाललाई कसरी बुझ्ने भनेर वस्तुनिष्ठ विचार दिनुहुने व्यक्तित्व हो । भट्टको त्यो प्रयत्न र सन्ध्याको अन्तर्यसमेत मिल्ने हुँदा सहकार्य गरौँ भनेर कोष स्थापनाको प्रतिबद्धता मैले जाहेर गरेको हुँ । शिखर व्यक्तित्वका नाममा स्थापित पुरस्कार अर्का त्यस्तै शिखर व्यक्तित्वलाई दिनेगरी स्थापित पुरस्कार पहिलोपटक नै प्रतिभाचयनको यो थालनी अनुकरणीय रहेको छ । त्रिपाठीज्यूको नेपाली वाङमयमा उपस्थिति आफैँमा उदाहरणीय छ । गोविन्द भट्टले नेपाली साहित्यमा दिनुभएको योगदानको सम्मान र तत् तत् विधामा योगदान गर्ने विशिष्ट स्रष्टालाई सम्मान गर्ने परम्पराको थालनी नै यो पुरस्कार स्थापनाको उद्देश्य हो । मरेपछि स्रष्टा गुमनाम नहुन् र योगदानको विमर्शका माध्यमबाट सम्झने, सम्मान गर्ने अनि नयाँपुस्तासम्म पुर्याउने पनि यो पुरस्कार स्थापनाको उद्देश्य हो । उद्देश्यअनुसार पहिलोपटक पुरस्कार अर्पण गर्ने आजको यो विशेष समारोह आफैँमा खुसीको क्षण हो भन्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि डा. मोदनाथ प्रश्रितले गोविन्द भट्टजस्तो स्थापित, परिपक्व एवम् शालीन व्यक्तित्वका नाममा स्थापित भएको यो पुरस्कार नेपाली वाङ्मयमा त्यस्तै विशिष्ट योगदान गर्नुहुने विशिष्ट साधक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गर्ने आजको यो विशेष समारोह आफैँमा ऐतिहासिक भएको छ, मलाई अत्यन्त खुसी लागेको छ । म सबै पक्षलाई यो सराहनीय कार्यका लागि हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

प्रमुख अतिथि बैरागी काइँलाले आजको यो समारोह बडो महत्त्वपूर्ण रहेको छ । ६० वर्षदेखि साहित्य सेवा गर्ने त्रिपाठीज्यू समालोचनाका क्षेत्रमा ढ्याप्पै ढाक्ने व्यक्तित्व हुनुहुन्छ । हामीजस्ता स्रष्टालाई चिनाइदिने व्यक्ति पनि उहाँ नै हो । गोविन्द भट्टजस्तो दार्शनिक एवम् माक्र्सवादी चिन्तनका ज्ञाता व्यक्तिका नाममा पुरस्कार स्थापना हुनु अर्को गौरवपूर्ण कुरा हो । सामाजिक क्रान्तिका क्षेत्रमा माक्र्सवादी चिन्तनले महत्त्वपूर्ण योगदान गरेको छ । शैक्षिक क्षेत्रका अलावा साहित्यमा नयाँ धारा प्रतिपादन गर्ने चिन्तकका नाममा स्थापित पुरस्कार अर्का त्यस्तै शिखर व्यक्तिले पाउनु झनै खुसीको कुरा हो । मेरालागि आजको यो समारोह ऐतिहासिक क्षण भएको छ भन्ने धारणा राख्नुभयो ।

सभाध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिनुहने सबै आदरणीय व्यक्तित्वमा हार्दिक आभार व्यक्त गर्दछु । आफूले पनि लामो सङ्गत गरेका गोविन्द भट्ट नेपाली साहित्य र दर्शनका क्षेत्रमा विद्वान व्यक्त्त्वि हुनुहुन्छ । उहाँको नाममा स्थापना भएको पुरस्कार आज हामीले अर्का विद्वान व्यक्तित्वलाई समर्पण गरेका छौँ । स्रष्टाले वस्तुस्थितिको नजिकबाट मूल्याङ्कन गरेर सत्य र न्यायका पक्षमा आबाज बुलन्द गर्नुपर्छ भन्ने मान्यता राख्ने गोविन्द भट्ट साहित्य सन्ध्याका प्रेरणाका स्रोत हुनुभएकाले उहाँको स्मृति दिवस पारेर उहाँलाई सम्झने परम्पराको थालनी आजबाट गरेका छौँ । अर्थात् स्रष्टा मरेर गएपछि गुमनाम हुने अवस्थाको अन्त्य होस् र जीवित रहँदा गरेका योगदानको सम्झना र सम्मान गर्ने अनि वर्षमा एकपटक सम्झने गङ्गाप्रसाद उप्रेतीज्यूको सपना साकार पार्ने अभियानमा सामेल हुन पाउँदा साहित्य सन्ध्या गौरवान्वित पनि भएको छ भन्ने धारणा राख्नुभयो र पुनः सबै सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो ।