गजल

काठमाडौं ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ, भाषा साहित्य समितिको सहकार्यमा ‘साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघको २२औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न कविले आआफ्नो भाषाका कविता वाचन गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालका सबै भाषाको प्रतिनिधित्व गर्ने सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिविम्बित भएको बताए । उनले संसारभरि छरिएर रहेका नेपालीले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरिरहेको पनि उल्लेख गरे ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका छोराछोरीलाई देशको भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताए । उनले भाषा नजोगाए, संस्कृति नबचाए सभ्यता र इतिहास पनि नामेट हुने खतरा रहेकाले यसको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा डा. गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, संगीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मी थापा, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितानसहित ५९ कविले कविता वाचन गरेका थिए ।