• २०८३ बैशाख १५, मंगलवार

प्रा. डा. लक्ष्मणप्रसाद गौतमको ‘समवेत’ निबन्धसंग्रहको लोकार्पण

काठमाडौँ ।

नेपाल स्रष्टा समाजले वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमको ‘समवेत’ निबन्धसंग्रहको लोकार्पण गरेको छ । वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्राडा ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र निबन्धकार गौतम लगायतले सामुहिक रूपमा कृतिको लोकार्पण गरेका हुन् । वरिष्ठ समालोचक प्रमोद प्रधान कृतिबारे समीक्षात्मक टिप्पणाी गरेका थिए । प्रधानले २१ निबन्धमा निबन्धकारले आफ्नो कवि व्यक्तित्वको प्रभाव छोड्दै सम्बोधन शैलीमा सुन्दर ढंगले निबन्ध लेखेको बताए । गौतमका निबन्धहरूमा निबन्धकार र पाठकलाई नजिक्याउने अदभूत खुबी भएको पनि उनले बताए ।

त्यस्तै प्रा.डा. ज्ञानु पाण्डेले समवेतका निबन्धसंग्रहको समीक्षात्मक टिप्पणी गरेकी थिइन् । यथार्थता, सकारात्मक सन्देश, सरलता, गहनता, काव्यात्मक प्रभाव, संस्कारप्रति चासो, विषय विविधता जस्ता विशेषताले निबन्धहरू ओजिलो बनेको बताइन् । निबन्धकार गौतमले निबन्धमा आफैंलाई प्रस्तुत गरेको बताए । उनले समालोचनाभन्दा निबन्ध लेखनमा धेरै साधना गर्नुपर्ने बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले नेपाली साहित्यको आत्मपरक निबन्धमा क्षेत्रमा गौतमको उपस्थिति उत्सवमय भएको बताए ।

उक्त लोकार्पण कार्यक्रममा समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गरे। संस्थाका सदस्य मधु पाठकले सञ्चालन र सचिव प्रकाश घायलले स्वागत मन्तव्य प्रस्तुत गरेको लोकार्पण कार्यक्रममा संस्थाका सदस्य रन्जना निरौला, तारा सुबेदी, पत्रकार लेखक जयदेव भट्टराई, तुलसीहरि कोइराला, प्रदीप सापकोटा, बोधराज पौडेल, मुकुन्दराज शर्मा, राधेश्याम लेकाली, राजेश खनाल, सिन्धु गौतम, सुमन सौरभ, शंकर भारती, ज्ञानु अधिकारीलगायत स्रष्टाको उपस्थिति रहेको थियो ।