• २०८१ बैशाख ६ बिहीबार

यात्रा

मौन आवाज

मौन आवाज

लामो अन्तराल पछि
आज घाम उदाएको छ
यो परम उत्सवको क्षण हो !
ढुसी
लेउ
खिया जस्ता चिजहरूले
हृदय आक्रन्त थियो
घना बादलको प्रहारले
आत्मा घायल थियो
प्रतीक्षाले आयु खाइरहेको थियो

यात्रा अवरूद्ध थियो

ईश्वर अल्लाहहरू
लामो समयदेखि
वेश्यालयमा कैद थिए

मन्दिर मस्जिदहरूमा
ताला लागेको थियो
प्रार्थना र
याचनाहरूको कुनै गुन्जायस थिएन
असंख्य प्रकोपहरू छातीमा बोकेर
निर्विचार निशब्द
म सिंगो युग
मौन उभिरहें

आज धेरै कालपछि
मस्तिष्कमा उज्यालो पसेको छ
यो अत्यन्त सुखदपल हो
आजै मैले-
प्रेमका बाँकी बक्यौताहरू चुक्ता गरिदिएँ

प्रेमबाट प्रेमलाई मुक्त गरिदिएँ

यसरी
अनन्त यातनापछि
आज पहिलो पटक
म निर्बन्ध यात्रामा निस्केको छु !


मौन आवाज
[email protected]