कविता

काठमाडौं, असोज २३ ।
यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । क्राज्नाहोर्काइलाई “प्रभावशाली र दूरदर्शी रचनाहरू जसले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन्“ भन्दै पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा भएको थियो । उक्त स्थान रोमेनियाको सीमानजिकै पर्छ ।उनका कैयौँ कृति हङ्गेरियन भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् । उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन् । सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन् ।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ । पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ ।
बीबीसी नेपालीबाट