• २०८२ आश्विन २६, आईतवार

अनेसासको विश्वस्तरीय कविता प्रतियोगितामा गंगा पोखरेल प्रथम

काठमाडौँ,

राष्ट्रकवि माधव घिमिरेको १०७ औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिले विश्वस्तरीय कविता प्रतियोगिता भव्य एवम् सभ्य रूपमा सम्पन्न गरेको छ । अक्टोबर २ तारिखका दिन जुम हलमा संचालन गरिएको कविता–महोत्सवमा विभिन्न महादेश तथा देशमा रहेका नेपालीभाषी कविहरूले सहभागिता जनाउनुभएको थियो । जापान, कोरिया, नेपाल, अमेरिका, जर्मनी, नर्वे आदि देशका नेपाली कविहरूबाट ८० वटा कविता प्राप्त भएका थिए ।

दुई सय शब्दमा नबढाई कविता लेखिएको हुनुपर्ने, कसैलाई व्यक्तिगत आक्षेप नलगाइएको हुनुपर्ने, कुनै पनि पूर्व पुरस्कृत कविताको नक्कल वा भाव हरण नगरिएको हुनुपर्ने आदि नियमलाई आधार बनाई कविता छनोट समितिले २८ वटा कविता वाचनका लागि छनोट गरेको थियो । अनेसासका महासचिवका अनुसार अनेसास केन्द्रले वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको थियो जसमा सूचना प्रवाह गरी कविता आव्हान गर्ने, पुरस्कारका लागि अर्थ संकलन गर्ने, धैर्यपूर्वक चार पाँच पटक कविता पठन गरी वाचन र अन्तिम निर्णयका लागि कविता छनोट गर्ने, विशिष्ट अतिथि तथा वाचनका लागि छनोट भएका कविहरूलाई निमन्त्रणा गर्ने, कार्यक्रमको व्यवस्थापन गर्ने लगायतका जिम्मेवारीहरू बाँडफाँड गरी समूह कार्य सम्पन्न गर्ने निर्णय गरिएको थियो । यसै निर्णयअनुसार लालगोपाल सुवेदी तथा सुदीपभद्र खनालले छन्दका ८ वटा कविताहरू सिफारिस गर्नुभएको थियो भने उपाध्यक्ष गणेश खड्का तथा सदस्य पुष्पा खनालले गद्य शैलीका २० वटा कविता सिफारिस गर्नुभएको थियो ।

पुरस्कार रकम उपलब्ध गराउने दाताहरूमा रोहिणी शर्मा, प्रा. डा. गोपी उप्रेती, प्रकाश नेपाल, ईश्वरी भट्ट, डन कार्की, रमेश गुरुङ, कपिलदेव सुवेदी, शकुन ज्ञवाली र वासुदेव खनाल रहनुभएको बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले बताउनुभयो । महासचिव राजु सिटौलाले प्राप्त भएका कवितालाई कोडिङ गरी (कविको नामको सट्टा कविताको क्रम संख्या, शीर्षक र कविता निर्णयका लागि पठाउने कार्य) छनोटका लागि उपलब्ध गराउनुभएको थियो । छनोट समितिलाई कविको नाम थाहा नहुनु र निर्णायकहरू मध्ये कसैले पनि अर्को निर्णायकको नाम थाह नहुनु पनि कविताको उत्कृष्टता निर्धारणका थप कडीहरू रहेका जनाइएको छ । जात, लिङ्ग, वर्ण, उमेर, देश, छालाको रङको आधारमा कुनै पनि भेदभाव नगरियोस् भन्ने उद्देश्यका लागि अनेसासले यस सिद्धान्तलाई अबलम्बन गर्दै आएको उल्लेख छ । शास्त्रीय र आधुनिक कविताका भित्री बाहिरी गुण बुझेका निर्णायकको चयन यस प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष हो ।

पुरस्कार प्रदान गर्न ५ वटा कविता छनोटका लागि त्रिभुवन विश्व विद्यालयमा तीन दशक भाषा साहित्य प्राध्यापन गर्नुभएका प्रा. डा. कृष्णप्रसाद दहाल, तिसको दशकबाटै कविता साधना गरिरहनुभएकी सीता पाण्डे र विभिन्न दर्शन, लीलालेखन, गद्यपद्य कविता अध्ययन गरिरहनुभएका नारायण अधिकारीबाट पूर्णाङ्क १०० अङ्कको तीनवटा छुट्टाछुट्टै अङ्क तालिकाबाट प्राप्त योगफलका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान निर्धारण गरी पुरस्कृत कविहरूको गोप्य खामबन्दी उघारेर नारायण अधिकारीले पुरस्कृत स्रष्टाको नाम सार्वजनिक गर्नुभएको थियो ।

महासचिव राजु सिटौलाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष सर्वज्ञ वाग्लेले गर्नुभयो भने प्रमुख अतिथिको भूमिका संस्थापक होमनाथ सुवेदीले गर्नुभयो । उक्त समारोहमा बिओटी सभापति पदम विश्वकर्मा र माधव घिमेरिकी सुपुत्री कवि तथा गीतकार ज्योति पौडेल र बिओटी सल्लाहकार कवि पुरु सुवेदीले विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नुभयो ।

अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले स्वागत मन्तव्यका क्रममा माधव घिमिरेका कृति र प्रवृत्ति उल्लेख गर्दै समग्र कार्यक्रमको जानकारी गराई सबै अतिथिलाई स्वागत गर्नुभयो । बिओटी सभापति विश्वकर्माले शुभकामना मन्तव्यका क्रममा आफ्नो पहलबाट थालनी गरिएको माधव घिमिरे कविता महोत्सवले निरन्तरता, ख्याति र विशिष्टता प्राप्त गर्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । विशिष्ट अतिथि ज्योति पौडेलले पिता माधव घिमिरेले आन्तरिक र बाह्य गुणहरूकै कारण १०२ वर्षको आयु बांच्न पाउनुभएको तथ्य उजागर गर्नुभयो । निणायक प्रा. डा. कविहरू वर्तमानका मात्र नभई युग जीवनका सुदूर भविष्यका पनि पथ प्रदर्शक हुन् भन्ने भनाइ राख्नुभयो ।
निर्णायक नारायण अधिकारीले एउटै पाठकले उही कविता बिहान, दिउँसो र बेलुका पढ्दा फरक फरक ढंगले बुझ्ने हुँदा कविता अनुभूतिसापेक्ष विधा भएको तर्क राख्नुभयो । उहाँले प्रतियोगितामा बुटवल नेपालकी गंगा पोखरेल प्रथम, ह्यारिसवर्ग अमेरिकाका मधु घिमिरे द्वितीय, फ्रयाङ्फर्ट जर्मनीकी सुजाता घिमिरे राउत , उदयपुर नेपालकी सुमी पोखरेल र तनहुँ नेपालका बादल खरेलले प्राप्ताङ्कका आधारमा तृतीय स्थान प्राप्त गरेको घोषणा गर्नुभयो ।

कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथिको आसनबाट संस्थापक होमनाथ सुवेदीले नेपाली साहित्य वर्तमान समयसम्म आइपुग्दा निकै धनी भएको र आज वाचन गरिएको कविताले युगजनित विश्वव्यापी काव्य प्रवृत्तिको उज्यालोमा नेपालको जेन्जी आन्दोलनका मुद्दा र मर्मलाई सफल रूपमा उजागर गरेको तथ्य औंल्याउनुभयो । कार्यक्रमको अन्त्यमा अनेसासले हाम्रो नेपाली भाषाका साहित्यिक कृतिहरूलाई चिरकालसम्म जीवित राख्न अर्काइभ बनाउन लागिएको र नेपाली साहित्यलाई नोबेल पुरस्कारको ढोकासम्म पुर्याउने योजनाअनुरूप छोरा नाति पुस्तालाई अझ सशक्त रूपमा उभ्याउने अभियानमा अनेसास दत्तचित्त रहेको धारण प्रस्तुत गर्नुभयो । वाचित कविताले नेपालको प्रतिपक्षको भूमिका बहन गर्दै नेताहरूलाई खबरदारी गर्ने महत्त्वपूर्ण भूमिका बहन गरेकालो साहित्य युगकै ऐना हो भन्ने निष्कर्ष प्रस्तुत गर्दै अध्यक्ष सर्वज्ञ वाग्लेले कार्यक्रमलाई भव्य बनाउने अतिथि, कविता प्रतियोगिता समिति र दाताहरूलाई धन्यवाद प्रकट गरी सभा विसर्जन गर्नुभयो ।