• २०८२ मंसिर ८, सोमबार

चलचित्र अभिमन्युको ‘मरौँ ज्यानले’ सार्वजनिक

काठमाडौँ,

चलचित्र ‘अभिमन्यु च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ । प्रेममा लीन एको प्रेम जोडीको प्रेम गीतमा समेटिएको छ। प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ ।

बाहिर देख्दा कठोर देखिने व्यक्तिको हृदय कोमल हुने भन्दै गीतले एकले अर्काको मनमा बसेको विषय उल्लेख गरेको छ। प्रेमिल गीतले सिनेमाका दुई मुख्य पात्रको प्रेम देखाएको छ । भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ ।

असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु  च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ। ‘अभिमन्यु च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।