समाचार

काठमाडौं ।
दशैंको पूर्णिमाको अवसरमा बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले यो गीत रिलिज गरेको हो । राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा पदम साधना कुलुङले शब्द लेखेका छन् भने संगीत तोरेम्पाहाङ राईको रहेको छ । गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा दुई जोडी कलाकार दयाहाङ राई र दीया पुन, साथै धिरज मगर र मिरुना मगरले परम्परागत साकेला नृत्यमा छमछमी नाचेका छन्। पूर्वी नेपालका राई समुदायको सांस्कृतिक पर्व साकेलालाई उत्सवमय रंगमा प्रस्तुत गरिएको यस गीतले मौलिकपन झल्काएको छ । फिल्मको कथा लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धमा आधारित छ, जसअनुसार गीतलाई कथा अनुरूप मिलाइएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएको केही घण्टामै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया र प्रशंसा मिलिरहेको छ ।
यसअघि सार्वजनिक गरिएको पोस्टर, टिजर र ‘तिमीलाई के थाहा सानु’ गीतले नै दर्शकमाझ ‘मैझारो’प्रतिको उत्साह बढाइसकेको छ । ‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मको निर्देशन विल्सन विक्रम राई (तक्मे बुढा)ले गरेका हुन । यसमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, छायांकन सौरभ लामा, वितरण आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआरले लिएको छ । ‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ ।