काठमाडौँ- साहित्यकार खगेन्द्र संग्रौलाको नयाँ कृति दलित विषयका कथाहरूको संगालो ‘सङ्ग्राम बहादुर सार्की’ प्रकाशित भएको छ । नेपाली समाजमा विद्यमान जात व्यवस्था, दलित समुदायमाथि हुने विभेद‚ जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिबिम्बित गरेको लेखक संग्रौलाले जनाएका छन् ।
‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रुणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ’, साहित्यकार संग्रौलाले भने, ‘विपन्न, वञ्चित र दलितहरुलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने ससाना जमघटमा मैले यी कथाका पात्रहरूलाई भेटेको थिएँ ।’
संग्रौलाले नयाँ कथा सञ्चयनलाई आफ्नै अरु कथाहरुको विशाल चाङमुनि चेपिएर पाठक र समीक्षकका दृष्टिबाट ओझेल परेका कथाहरुको पुस्तक भनेका छन् । ‘मेरै कथाहरुको विशाल चाङमुनिको चेपबाट मैले यी कथालाई बाहिर निकालेको हुँ, बाहिर निकाल्नु वास्तवमा यी कथाहरुको मुक्ति हो ।’
‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा २०२७ देखि २०५५ सालसम्म लेखिएका आठ वटा कथा संकलित छन् । संकलनबारे लेखक तथा नागरिक अधिकारकर्मी जेबी विश्वकर्माले दलित जीवनको वास्तविकतालाई अत्यन्त मार्मिक भाकामा बोलिएको टिप्पणी गरेका छन् । विश्वकर्माले भनेका छन्, ‘जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरुद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेटेका छन् । उक्त पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।