वसन्तवेला

काठमाडौं ।
नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ । शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ–देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ । ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, संस्मरण, कविता र विचारहरू समेटिएका छन् ।
चार खण्डमा विभाजित ग्रन्थमा सहकर्मीहरूको अनुभव, परिवारजनको स्मृति, राजनीतिक विश्लेषणका साथै परिशिष्ट खण्डमा अभागीका तस्बिर, हस्तलिखित कृतिहरू, चिठ्ठीपत्र र विद्यालय–संस्थाका दस्तावेजहरू समावेश गरिएका छन् । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासीले अभागीलाई नेपालको वामपन्थी राजनीति र प्रगतिवादी साहित्यका क्षेत्रमा एउटा उल्लेखनीय हस्ताक्षरका रुपमा अथ्र्याएका छन् । दाङमा जन्मिएर सिंगो पश्चिम नेपालको राजनीतिक, शैक्षिक र साहित्यिक क्षेत्रमा नेत्रलाल अभागीको योगदान अविस्मरणीय रहेको डा. उदासीको भनाइ छ ।