अनिश घिमिरेको अङ्ग्रेजी भाषाको उपन्यास “द स्टारडस्ट इन अस” लोकार्पण गरिएको छ । प्राडा. अभि सुवेदी, प्राडा. इन्द्र कार्की, प्राडा. राजनप्रसाद पोखरेल र सेन्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर अगस्टिन थोमसले उक्त कृतिको संयुक्त विमोचन गरेका हुन् ।
कार्यक्रममा डा. सुवेदीले स्टारडस्ट युवाको कल्पनाशक्तिको उपज भएको बताउँदै विषयवस्तु, पात्रहरूमार्फत्को कथा आदिले लेखक अनिश सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गरे । साथै, उनले पढ्दैजाँदा अनिशको कौतूहलपूर्ण र सिर्जनशील लेखनीले आफू बाँधिएको र नेपालमा प्रकाशित हुँदैआएका अन्य उपन्यासको दाँजोमा अनिशको कृति अब्बल भएको आफूले पाएको बताए ।
सो अवसरमा कृतिकार अनिश घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजीव पात्रमार्फत् पृथ्वीलाई मात्र हेर्ने परम्पराभन्दा फरक अर्थात् तारासमेतलाई दृष्टिगोचर गरेर आफूले दोस्रो कृति रचना गरेको जानकारी दिएका छन् । साथै, उपन्यासकार अनिशले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफू यस स्थानसम्म आइपुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्दै आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गरे ।