काठमाडौँ/२० फागुन २०७८ ।
विराटनगरमा ओजश फिल्मस् एन्ड इन्टरटेन्मेन्टको आयोजना र साइमन फिल्मस्, मुम्बई, भारतको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड- २०७९’ हुने भएको छ । आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए ।
मुम्बईमा केही वर्ष काम गरेका साइनम त्यहाँको साइमन फिल्मस्को डिजाइन अनुरूप अवार्ड गर्ने योजनामा छन् । आयोजकका अनुसार कलाकार तथा प्राविधिकलाई २१ विधामा अवार्ड प्रदान गरिने छ । अवार्डको सल्लाहकारमा अनिशसिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, व्यवस्थापन विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । वर्ष २०७६, २०७७ र २०७८ को चैत भित्र प्रदर्शित फिल्महरू महोत्सवमा सहभागी हुने र अवार्डको उत्कृष्ट पाँच मनोनयन केही समयमै सार्वजनिक गरिने बताइएको छ ।