• २०८२ आश्विन २१, मंगलवार

सोल्टिनी’को ‘दाजुको साली’ गीत सार्वजनिक

काठमाडौँ ।

भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’को दोस्रो गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर महाअष्टमीका दिन सार्वजनिक यस गीतमा एस.डी. योगीको स्वर रहेको छ । गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने हर्कुलस बस्नेतले संगीत भरेका छन् । यसमा उदय राज पौडेलले एरेन्ज रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विवाहको परिवेशमा तयार पारिएको भिडियोमा फिल्मका कलाकारहरू सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडालाई पनि देख्न सकिन्छ । गीतले सोल्टिनीप्रतिको प्रेमलाई मुख्य विषय बनाएको छ ।

अर्जुन सुवेदीको निर्देशनमा बनेको यो फिल्ममा प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतको पनि अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् ।

रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा अर्जुन सुवेदी र कुमार भट्टराईको स्क्रिप्ट लेखन छ । फिल्मका सह–निर्माताहरू रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी हुन् । फिल्ममा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको बताइएको छ ।