• २०८१ चैत ६ बिहीबार

‘प्रकाश थाम्सुहाङका ‘शब्दथुम’ निबन्धसंग्रहमाथि चर्चा सम्पन्न

काठमाडौँ ।

धरान महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागद्वारा आयोजित ‘प्रकाश थाम्सुहाङको किताब शब्दथुममाथि चर्चा’ सम्पन्न गरिएको छ । कार्यक्रममा समालोचकहरूले रैथाने चेतलाई आवाज दिने काम निबन्धकार थाम्सुहाङले गरेको बताए । साथै थाम्सुहाङको शब्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति र जीवनशैलीलाई मिहीन रूपमा उतार्न सफल भएको समालोचकहरूले बताएका छन् ।

निबन्धमाथि समालोचकीय धारणा राख्दै उपप्राध्यापक अस्मिता विष्टले ‘पालामको मुर्छना’ कवितासंग्रह ल्याएको १७ वर्षपछि निबन्ध संग्रह लिएर आएका लेखक थाम्सुहाङले नेपाली निबन्ध लेखनमा अर्को उचाइ थपेको बताइन् । उनले भनिन्, ‘निबन्धकार थाम्सुहाङले शब्दको गढ तयार गरेर आम पाठकको ध्यान तान्न सफल भएका छन् । निबन्धभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सीमान्तकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह गरेका छन् ।’ उनले संग्रहभित्र रहेका २४ थान निबन्धले पहिचानको कुरामात्र नगरेर सत्तालाई समेत चुनौती दिँदै पाठकको ध्यानाकर्षण गर्न सफल भएको बताइन् ।

प्राध्यापक टंक न्यौपानेले निबन्ध लेखनमा थाम्सुहाङले पहिचान र अस्तित्वको लडाइँलाई नयाँ चिन्तनमार्फत व्यक्त गरेको भन्दै प्रशंसा गरे । उनले भने, ‘पूर्वका स्रष्टाहरूले नेपाली साहित्यको आन्दोलन र वाद तयार गरेर केन्द्रलाई पहिलैदेखि चुनौती दिँदै आएको हो । थाम्सुहाङको यो निबन्धसंग्रह पनि त्यसैको निरन्तरताका रूपमा देखिएको छ । आफ्नोपन, भाषिक, जातीयता र त्यसभित्रको समग्र सांस्कृतिक र सामाजिक, राजनीतिक पक्षलाई दाबी गर्दै लेखिएका निबन्धले पाठकको मष्तिस्क झकझाउँछ ।’

सञ्चारकर्मी भोजराज श्रेष्ठले सहजीकरण गरेको चर्चामा सञ्चारकर्मी समेत रहेका अर्का निबन्धकार दीपक सापकोटाले थाम्सुहाङको ‘शब्दथुम’ भित्र माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चकताले भरिएको बताए । उनले भने, ‘लुङ्माहिम साइँलादेखि वैैरागी काइँलासम्मका अलिखित, नुतन कथा समाविष्ट गरेर आफ्नो समुदाय र परम्परामाथि शालीन विमर्श गरेका छन् । जुन छिप्पिएको जाँडझैँ निबन्ध परिपक्व छन् ।’ नेपाली विभाग प्रमुख दीपक न्यौपानेले निबन्धकार थाम्सुहाङले आफ्नै सांस्कृतिक धरातलमा उभिएर निबन्ध लेखेको धारणा राखे ।