समाचार

काठमाडौं ।
साहित्यकार खगेन्द्र गिरीको पहिलो कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ हालै बजारमा आएको छ। इन्डिगो इन्कद्वारा प्रकाशित यस कथासंग्रहमा नौ वटा कथा समावेश छन्, जसमा लेखकले प्रयोगवादी शैलीमार्फत मानवीय संवेदना, सामाजिक द्वन्द्व र प्रेमका विविध रूपलाई प्रस्तुत गर्नुभएको छ ।
गिरीको यस संग्रहमा दैनिक जीवनमा सामान्य लाग्ने पात्रहरूलाई अस्वाभाविक, डर लाग्दा र कहिलेकाहीँ खुंखार रूपले चित्रण गरिएको छ। ती पात्रहरूले जीवनमा घट्ने दुर्घटना, अपूर्णता र असफल प्रेमका कथाहरू बोकेका छन्। गिरीका कथामा देखिने पात्र र परिस्थिति पाठकलाई परिचित भए तापनि, स्वैरकल्पनाको प्रयोगले तिनलाई विलक्षण ढंगले पुनः सिर्जना गरिएको छ ।
लेखक स्वयं पत्रकारिता क्षेत्रमा सक्रिय भएकाले उहाँका कथामा सामाजिक यथार्थ र व्यंग्यात्मक प्रस्तुति सशक्त रूपमा आएको पाइन्छ । उहाँले वर्तमान समाजदेखि लिएर इतिहाससम्मका विकृति र विसङ्गतिलाई कथामा उठाउनुभएको छ ।
आख्यानकार तथा निबन्धकार नारायण ढकालले गिरीको यस संग्रहबारे टिप्पणी गर्दै भन्नुभएको छ “गिरीले आफ्ना कथामा सामाजिक, आर्थिक, राजनीतिक र नैतिक सबै खालका संकटलाई विषयवस्तु बनाएका छन् । उनका कथा स्वैरकल्पनामा आधारित भए पनि त्यसलाई सतही रूपमा नभई गहिराइका साथ प्रस्तुत गरिएको छ ।”
प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तक चाँडै औपचारिक रूपमा विमोचन गरिने छ । ‘भग्न प्रेमशाला’ को मूल्य ५४९ रुपैयाँ तोकिएको छ ।साहित्यिक वृत्तमा यस संग्रहलाई नयाँ पुस्ताका लेखकले प्रयोगवादी कथा लेखनमा गरेको साहसिक प्रयासका रूपमा हेरिएको छ। पाठक र समीक्षक दुवैको रुचि आकर्षित गर्ने अपेक्षा राखिएको यस पुस्तकले नेपाली कथासाहित्यमा नयाँ बहस सुरु गर्ने विश्वास गरिएको छ ।