• २०८२ आश्विन २२, बुधबार

विराटनगरमा २०औँ बहुभाषिक कवि गोष्ठी सम्पन्न

मोरङ ।

विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २०औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा सम्पन्न भएको छ ।

स्वर सङ्गम सङ्गीतालयको सभाहलमा आयोजित कार्यक्रममा साहित्य, कला र संस्कृतिसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरहीले स्रष्टाले कुनै पनि राजनीतिक दलको पक्षधर भएर कलम चलाउनु हुँदैन भन्ने धारणा व्यक्त गर्दै, स्रष्टा–कलाकारहरूको भूमिका समाजलाई जोड्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले “राजनीतिले फोडेको समाजलाई साहित्यले मात्र जोड्न सक्छ” भन्दै परिषद् त्यसै अभियानमा लागेको बताउनुभयो ।

कार्यक्रममा अंशुकुमार गुप्ता, किरण अञ्जान, उद्धव केसी, कुमार श्रेष्ठ, भूपाल अधिकारी, गोविन्द भगत, सुजता राई, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सङ्गीता कर्ण, चूडामणि घिमिरे ‘गोपाल’, प्रिन्स प्रमोदकुमार ढकाल, गोपाल निर्भीक, भीम कोइराला, शम्भु भट्टराई, नवराज पोखरेल ‘नवशिला’, कर्ण सञ्जय, सपना यादवलगायतका स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

विशिष्ट अतिथिमा स्वर सङ्गम सङ्गीतालयका गुरु कुशेश्वर राई र विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललगायतको उपस्थिति थियो। संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मैथिल स्रष्टा शिवनारायण सिङ्गलले गर्नुभएको थियो ।