• २०८२ कार्तिक १३, बिहीबार

प्रश्नपत्रमा अल्झिएको उत्तर

डा. स्मिता श्रेष्ठ

डा. स्मिता श्रेष्ठ

मेरा शब्दहरू त्यति शक्तिशाली छैनन्
कि तपाईं मदेखि सतर्क हुनुस्

निकै अबोध छु
बेबकुफ छु
भुलक्कड छु
घरि–घरि बिर्सन्छु गायत्री–मन्त्र
बिर्सन्छु कहिलेकाहीँ न्वारानको नाम पनि

केही नछुटोस् कापीमा र नछुटुँ जीवनको भागदौडमा भनेर
आदतवश लेखिरहेको हुन्छु हत्केलामा,
रद्दी कागजमा,
चमेना–घरको टेबुलमा

मेरा शब्दहरू त्यति शक्तिशाली छैनन्
कि तपाईं मदेखि सतर्क हुनुस्

अंगारले आँगन रङ्ग्याएर
सुरू भएको मेरो स्कुले–शिक्षा
चहकिलो बन्न बाँकी छ,
निःस्वार्थ सेवाको पूजनीय अनुष्ठानमा
आफूलाई होम्न त बाँकी छ,

होमको एक दाना चरुभन्दा पनि साना मेरा शब्दहरू
त्यति शक्तिशाली छैनन्
कि तपाईं मदेखि सतर्क हुनुस्

मेरा चित्रहरू त्यति रहस्यमयी छैनन्
कि तपाईं मदेखि सतर्क हुनुस्

संसार बदल्न चित्र कोरिरहेको
म कुनै चित्रकार होइन,
कहिलेकाहीँ शब्दहरू खज्मजिन्छन्
र भावनाको पोयो फुकाउन
तन्काउँछु, छोट्याउँछु, छाँट्छु, गोल्याउँछु
निर्दोष धर्काहरू

’आफू’लाई पढ्नुअघि
तपाईंको कारखानाजस्तो विश्वविद्यालयमा
सुम्पन आएको छु आफैँलाई ,
बिर्सिरहन्छु कसरी बगेका छन् नसाहरू,
कसरी सुन्नुपर्छ श्वासप्रश्वासको लय,
कसरी ’फिल्टर’ हुन्छ मिर्गौलामा पानी,
कसरी संयममा राख्छ मस्तिष्कले मुटु

तपाईं माग्नुहुन्छ भने
म तयार छु एकलव्यझैं औँला चढाउन गुरू–दक्षिणा
तर परीक्षाहलमा बसेर
म लेखिरहेको छैन संसार हल्लाउने कुनै ’एटम बम’को सूत्र,
नवीन ’भाइरस’को आविष्कार–पत्र,
कोरिरहेको छैन संसारले देख्नै नहुने भयानक चित्र

कि तपाई मदेखि सतर्क हुनुस् !

मलाई त
मृत्युको साँधमा अल्मलिरहेका बटुवालाई
जीवनको ठेगानासम्म डोर्याउनुछ,
सम्पूर्ण उर्जाहरूको विचलनमा
संगतिको कविता लेख्नुछ
र मानवताको उत्सवमा एउटा दियो बाल्नुछ
परीक्षाहलमा बसेर
केवल प्रश्नपत्र हल गर्नुछ र उत्तीर्ण गर्नुछ प्रत्येक परीक्षा
कि कहिल्यै अनुत्तीर्ण नहोऊँ
प्रत्येक सङ्कटको घडीमा
पृथ्वीलाई स्वस्थ राख्न !


डा. स्मिता श्रेष्ठ