• २०८२ चैत्र २२, आईतवार

डा. हिमलाल श्रेष्ठको लघुकथासंग्रह ‘चौतारो चिन्तन’ सार्वजनिक

काठमाडौं ।

लघुकथाकार डा. हिमलाल श्रेष्ठको नयाँ कृति ‘चौतारो चिन्तन’ शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको छ। सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, समालोचक डा. शेखरकुमार श्रेष्ठ, हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसी, स्रष्टा शेखर अर्याल लगायत साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. भट्टले नेपाली साहित्यमा लघुकथाको उपस्थिति क्रमशः प्रष्ट हुँदै गएको र यस विधाले अब आफ्नो विशिष्ट स्थान बनाउन सफल भएको बताउनुभयो । उहाँले विशेष विषयगत मुद्दामा आधारित लघुकथा लेखनको अभ्यास मौलाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

कृतिको समीक्षा गर्दै समालोचक डा. शेखरकुमार श्रेष्ठले ‘चौतारो चिन्तन’ भित्र संकलित लघुकथाहरूले पर्यावरण, संस्कृति, सम्पदाको संरक्षणसँगै मानवीय भावनाको पक्षलाई सशक्त रूपमा उठान गरेको बताउनुभयो । उहाँका अनुसार, पुराना चौतारो, मठमन्दिर, सामाजिक स्थलहरूको विनाशप्रति कृतिले स्पष्ट कटाक्ष गर्दै समाजपरिवर्तनतर्फ सोच्न बाध्य बनाउने खालका कथाहरू समावेश छन् ।

स्रष्टा डा. श्रेष्ठले आफ्नो कृति प्रकाशनको अवसरमा मन्तव्य व्यक्त गर्दै कथा, कविता मात्र नभई लघुकथामा पनि गहिरो रुचि रहेको खुलाउनुभयो । उहाँले अध्ययनका सामग्री, जीवनका अनुभव र कोभिड महामारीको समयलाई सिर्जनात्मक ढंगले उपयोग गरी लघुकथाहरू तयार पारिएको जानकारी दिनुभयो । धनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सचिव ध्रुव मधिकर्मीले स्वागत मन्तव्य राख्नुभयो भने, लता केसी र शेखर अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सिर्जना अभियान समाजबाट प्रकाशित र भाजु अनलाइन शप बाट वितरण गरिएको यस कृतिमा विभिन्न विषयमा आधारित ४८ वटा लघुकथाहरू संकलित छन् । साहित्यकार तथा समीक्षकहरूले यसलाई नेपाली लघुकथा विधामा थप योगदान पु¥याउने कृति भनेर सराहना गरेका छन् ।