• २०८२ कार्तिक ८, शनिबार

नवदुर्गा साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नीमा नेपाली र भुटानी समुदायका साहित्यकार र साहित्यप्रेमीहरूको विशेष उपस्थिति बीच ‘नवदुर्गा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। अस्ट्रेलियामा सक्रिय नौ जना महिला साहित्यकारहरूले दुर्गाका नौ स्वरूपलाई समर्पण गर्दै कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको थालनी हालै नेपालमा भएको ‘जेन जी आन्दोलन’ का क्रममा सहादत प्राप्त गर्नुभएको शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण र दीप प्रज्वलन गरेर गरिएको थियो। त्यसपछि स्वदेश गानमार्फत शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

नवरात्रिका दिनअनुसार प्रत्येक कवितालाई देवी स्वरूपसँग जोडेर प्रस्तुत गरिएको कार्यक्रममा, पहिलो दिन शैलपुत्रीलाई समर्पित कविता क्यानबेराको महता घिमिरे चापागाईंले वाचन गर्नुभएको थियो । दोस्रो दिन ब्रह्मचारिणीलाई समर्पित कविता अनेसास एनएसडब्ल्यूको महासचिव भावना पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।

तेस्रो दिनको ‘चन्द्रघण्टा’ देवीलाई रिचा गौतमले, चौथो दिनको ‘कुष्माण्डा’ देवीलाई ममता मिश्रले, पाँचौँ दिनको ‘स्कन्धमाता’लाई श्वेता मैनालीले, छैटौँ दिनको ‘कात्यायनी’लाई सुधिरा शाहले, सातौँ दिनको ‘कालरात्री’लाई प्रतिज्ञा अधिकारीले, आठौँ दिनको ‘महागौरी’लाई प्रज्ञा पनेरुले, र अन्तिम अर्थात नवौँ दिनको ‘सिद्धिदात्री’लाई कार्यक्रम संयोजक सानु घिमिरेले समर्पित कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यप्रेमी मात्र नभई दोश्रो पुस्ताका प्रतिनिधिहरूको समेत सक्रियता देखिएको थियो। बाह्र वर्षीया मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । भुटानीज समुदायकी पाँच महिलाले संयुक्त रूपमा दुर्गा स्तुति प्रस्तुत गर्नुभएको थियो । साहित्यकार सौरभ किरण श्रेष्ठको संयोजकत्वमा अग्रज साहित्यकार प्रभा भट्टराई र सुरेन्द्र दवाडी सदस्य रहेको समीक्षात्मक समितिले कविताहरूमा सुधारका सुझाव दिनुभएको थियो। सोही सुझावअनुसार सम्पादन र पुनर्लेखन गरिएका कविताहरू कार्यक्रममै प्रस्तुत गरिएको आयोजकहरूले जनाउनुभएको छ ।

कार्यक्रममा बोल्दै संयोजक सानु घिमिरेले अस्ट्रेलियामा रहेको महिला साहित्यकारलाई सबल बनाउँदै परिस्कृत साहित्य सिर्जना गर्ने उद्देश्यले आफ्नो समूह सक्रिय रहेको बताउनुभयो । उहाँले साहित्यलाई सामूहिक अभ्यासमार्फत अझ सशक्त बनाउन यस किसिमका कार्यक्रम निरन्तर गरिने आश्वासन पनि दिनुभयो । अनेसास अस्ट्रेलिया, एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपलिज सोसाइटीको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सञ्चालन एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलियाकी महिला विभाग प्रमुख दिव्य श्री आचार्यले गर्नुभएको थियो । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले प्रायोजन गरेको कार्यक्रममा साहित्यपोस्ट डट कम मिडिया पार्टनरको रूपमा संलग्न थियो। सो मिडियामा कार्यक्रममा प्रस्तुत गरिएका सबै कविताहरू प्रकाशित गरिने आयोजकहरूले बताउनुभएको छ ।