कविता

दाङ ।
साहित्यकार पद्मप्रसाद शर्माको बीसौँ कृति चेष्टा कथासङ्ग्रह घोराहीमा एक कार्यक्रमका बीच भव्य रूपमा विमोचन तथा गुरु सम्मान गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नगर समितिका अध्यक्ष वलदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि पौडेलले शर्मा लामो समय शिक्षकको भूमिकामा रहे पनि साहित्यमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। उहाँले निवृत्त जीवन पनि सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि पूर्वशिक्षक एवम् साहित्यकार विनोद पोखरेलले आफ्ना शिष्य शर्माले गरेको योगदान र सक्रियताप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथि मावि रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले पुस्तकमा रहेको वंशावलीले आफन्त चिन्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीले पुस्तकको समीक्षा गर्दै भन्नुभयो, “शर्माका कथाहरू सुन्दर छन्। समाजको यथार्थ चित्रण गरेका छन्। न्यायको पक्षमा उभिएका छन्। महिला अधिकारका कुरा समेटिएका छन् । बालबालिकाका हकहितमा ४२ वटा कथामा ४२ वटा विषयवस्तु समेटिएका छन् ।” उहाँले शर्माको साहित्यिक योगदानसँगै समाजसेवाको पनि खुलेर प्रशंसा गर्नुभयो ।
राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, पत्रकार रञ्जिता अधिकारी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल निवृत्त शिक्षक समाज दाङका सचिव दामोदर पाण्डे लगायतले साहित्यकार शर्माले गरेका सामाजिक र साहित्यिक योगदानबारे प्रकाश पार्नुभयो । लेखक पद्मप्रसाद शर्माले धन्यवादसहित मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष नुमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भई नगर समिति सदस्य कमलराज पोखरेलले सञ्चालन गर्नुभएको थियो ।