लघुकथा

काठमाडौं ।
नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ यस वर्षका लागि वरिष्ठ लेखिका सुलोचना मानन्धर धिताललाई प्रदान गरिने भएको छ । उहाँले नेपालको विकास प्रक्रिया तथा मानवअधिकार सुनिश्चितताका सवाललाई टेवा पुग्ने बहुआयामिक विषयमा चार दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा कलम चलाई दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको छ । काठमाडौँ निवासी सुलोचना साहित्यकार तथा भाषाविद्समेत हुनुहुन्छ ।
महिला, ज्येष्ठ नागरिक, सुसंस्कृत समाज निर्माण, जीवनोपयोगी ज्ञान, सीप तथा कर्म र नागरिक कर्तव्यजस्ता विविध विषयमा उहाँले सयौं आलेख प्रकाशन तथा ज्ञानमूलक रेडियो कार्यक्रमहरू सञ्चालन गरिसक्नुभएको छ । इतिहासका जिउँदा पानाहरू, जीवनबाट जीवन सिकौँजस्ता उहाँका पुस्तकहरू विकासकर्मीमाझ पनि चर्चित छन् । उहाँको साहित्यिक व्यक्तित्व पनि प्रगाढ छ र नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्वप्राज्ञ समेत हुनुहुन्छ ।
नेपानको ३१औँ वार्षिक साधारणसभाको अवसर पारेर असोज ४ गते शनिवार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिने छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । पुरस्कारका साथ नेपानले सम्मान–पत्र समेत प्रदान गर्नेछ ।
वि.सं. २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपश्चात् उनको स्मृतिमा उनका बाबा–आमा डा. चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गर्ने प्रचलन छ । श्री सुलोचना मानन्धर धिताल समेत सो पुरस्कारबाट हालसम्म ८ जना विकास लेखकहरू सम्मानित भइसक्नुभएको छ ।
यो पुरस्कारबाट वि.सं. २०७५ मा पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडालाई, २०७६ मा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीलाई, २०७७ मा प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मालाई, २०७८ मा कृषि एवम् ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापालाई, २०७९ मा नेपाली मोडेलको सकारात्मक सोच पद्धतिका प्रवद्र्धक डा. चण्डीप्रसाद चापागाईंलाई, २०८० मा महिला अधिकार तथा पोषणका विषयमा कलम चलाउने वरिष्ठ अभियन्ता डा. अरुणा उप्रेतीलाई र २०८१ मा लेखक तथा अभियन्ता सोमत घिमिरेलाई सम्मान गरिएको थियो ।