• २०८२ भाद्र ३१, मंगलवार

इतिहासको प्रारम्भमा

शुचिता काफ्ले

शुचिता काफ्ले

विश्वविहार कुँदिएका
दुई आँखामा नदी छन्
नदीको श्वाश छ
वर्ष वेगले गंगोत्री
समुन्द्रसम्म पुग्नेछ
अनन्त यात्राको लय तय गर्न
अनुत्तरित छन् जहाँ प्रश्नहरू
वेखबर छन्
आत्मगत दृष्टि कुँज्याएर
मूकदर्शक बनेका छन्
किनारमा पुगेर
भँगालोसित ठोक्किँदा पनि
ज्वारभाटामा विलिन हुँदा
अस्तित्वको संकट
जब देखा पर्छ
सुदूर क्षितिजमा टाङ्गिन्छ
एक आकृति , दुई आकृति
र अनेक चित्रमय
परिकल्पनाहरू
त्यहाँ इतिहास छ
मानव सभ्यता छ
संस्कृतिका अनेक
उहापोहहरू छन्
पढ्यौ कि तिमीले
वुद्धलाई
कन्फ्युसियसलाई
मोहम्मद
वा कृष्णलाई
सबै ती चैत्य
र टुँडालहरूमा
आकर्षक अक्षर बनेर
बोलिरहेका छन्
प्रवचन गरिरहेका छन्
आगामी दिनको कथा
पुराणको कुनै सन्दर्भ ।


शुचिता काफ्ले