समाचार
 
								 
							काठमाडौँ ।
अक्षरहरुमार्फत् अमेरिकी धरोहर जोगाएको भन्दै ६६ वर्षीय उपन्यासकार जर्ज साउन्डर्सलाई ‘नेशनल बूक अवार्ड’ले सम्मानित गरिने भएको छ । १० हजार डलर राशिसहित उनलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ले सम्मान गरिने भएको हो । यसअघि यो सम्मान प्रख्यात अमेरिकी साहित्यकारहरु टोनी मोरिसन, रोबर्ट कारो, एडमन्ड ह्वाइटसहित अन्यलाई प्रदान गरिसकिएको छ ।
सामान्यतः अमेरिकामा थ्रिलर उपन्यास खूब रुचाइन्छन् । त्यस्ता उपन्यासको भिडमा साहित्यिक उपन्यास ज्यादै दुःखी हुन्छन् भन्ने मान्यतालाई उनले भत्काएको भन्दै यो सम्मान दिन लागिएको हो । सन् १९९० को दशकमा उपन्यास लेख्न थाल्दा जर्जकी पत्नीले झूर उपन्यास लेख्नुभन्दा नलेख्नु नै श्रेयस्कर हुन्छ भनी सुझाएकी थिइन् । उनलाई आफूले पढाउने कलेजमा जर्जले फेला पारेका थिए । उनकी पत्नी त्यहाँ सिर्जनशील लेखन पढ्न आएकी थिइन् । पत्नीलाई खुशी बनाउन पनि उनले उपन्यासलाई मनोरञ्जक बनाउन सक्दो प्रयास गर्ने गरेको जर्जले एपी समाचार संस्थालाई जनाएका छन् ।
‘म टीभी पुस्ताको लेखक हुँ । मैले ‘जअ’जस्तो सुपर मनोरञ्जक फिल्महरु हेर्दै हुर्किएँ । त्यसैले उपन्यास पनि त्यत्तिकै मनोरञ्जक हुनुपर्छ भन्ने मान्यतामा छु,’ उनले भने । सन् २०१३ मा नेशनल बुक अवार्डमा उनको पुस्तक ‘टेन्थ अफ डिसेम्बर’ कथासंग्रह छोटोसूचीमा परेको थियो । त्यसयता छोटा कथाहरुको संग्रहलाई पनि बेस्टसेलर बनाउन सक्ने लेखकका रुपमा उनको ख्याति चुलिएको थियो ।
सन् २०१७ मा भने उनले बूकर पुरस्कार जितेर कीर्तिमान बनाएका थिए किनभने त्यतिञ्जेल कुनै अमेरिकी लेखकले बूकर जित्न सकेका थिएनन् । उनलाई आउँदो नोभेम्बर १९ मा न्यू योर्कमा यो अवार्ड न्यूयोर्कर म्यागेजिनकी सम्पादक डेबोरा ट्रेसम्यानले प्रदान गर्नेछिन् । सो अवसरमा रोक्साने गेलाई अमेरिकी साहित्यिक समुदायमा पुरयाएको ठूलो योगदानका लागि लिटरियन अवार्ड प्रदान गरिने बताइएको छ ।

 
								