• २०८२ भाद्र २७, शुक्रबार

सांग्रिला लिटरेचर फेस्टिबलको दोस्रो ‘सांग्रिला संवाद’ सम्पन्न

काठमाडौँ ।

सांग्रिला लिटरेचर फेस्टिबलको दोस्रो ‘सांग्रिला संवाद’ ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा सम्पन्न भएको थियो । संवादमा साहित्यकारद्वय अभि सुवेदी र अरुण गुप्तोले नाट्य र सिद्धान्तका विविध पक्षहरूमाथि गहन विमर्श गरे । अभि सुवेदीले नाटक विधामा आफूले गरेका कामलाई सम्झिए र अरुण गुप्तोले नाटकलाई सिद्धान्तका दृष्टिकोणले आफ्ना मत प्रकाश पारेका थिए । दुवैले नाटकमा हिंसा र प्रेम गर्ने तरिकामाथि आफ्ना अवलोकनहरू चर्चा गरे ।

गुप्तोले भने, ‘दुःखबाट निस्किएको ज्ञान एकदमै महत्वपूर्ण हुन्छ, जुन पहिलेका नाटकमा प्रस्तुत गरिन्थ्यो, आजभोलि हरर त भेटिन्छ तर दुःखबाट निस्किएको ज्ञान नाटकमा प्रस्तुत गरेको बिरलै भेटिन्छ ।’ अभि सुवेदीले संवादको अन्त्यमा आफूले रचेको पुरानो हाइकु सुनाए, जुन साँढेबारे थियो । सुवेदी र गुप्तोको संवादपछिको दोस्रो सत्र कविता–वाचनमा ७ कविले आफ्ना नयाँ–पुराना कविता सुनाएका थिए ।

कविहरू विनोदविक्रम केसी, विश्व सिग्देल, काशीराज पाण्डे, मोमिला जोशी, उषा शेरचन, विजय हितान र भूमिका थारूले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे । प्रायः कविहरूले कवितामा आफ्ना प्रियजनका पोट्रेट र तिनका नोस्टाल्जिया लेखेका थिए कवि केसीको ‘शिलाजित,’ सिग्देलको ‘जोकर र देश’, पाण्डेको ‘बरु म रित्तै फर्किन्छु’, जोशीको ‘छोरा म तिम्रो अभिसप्त आमा’, शेरचनको ‘पानी जस्तै म’, हितानको ‘पृथ्वीनारायण फेरि चन्द्रागिरी आएछन्’, र थारूको ‘हजुरआमा र देश’ कविताहरूले दर्शक–श्रोतालाई भावुक र मन्त्रमुग्ध बनाइरह्यो । कार्यक्रममा १०० जनाभन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो ।