कविता– मारवाड़ी

वाक्क लागेर यो संसारबाट
आफैलाई खोज्न
एकाएक म हराएँ
कोही ुमान्छे हराएकोु सूचना दिन हिडें
कोही मधुशालातिर खोज्न लागे ।
तर,
मान्छेहरूको मानसपटलमा स्मृति हराइसकेको थियो
मेरो आफ्नै छोरोको अनुहारमा म थिइन
आफन्तहरूले भित्तामा खोजे
कसैले सामाजिक संजालमा खोजे
कसैले टिकटकका भिडियोमा खोजे
अहँ !
कहिँ-कतै मेरो अनुहार थिएन ।
वास्तवमा,
मसँगै मेरा सारा फोटोहरू हराइसकेका थिए
दराजमा मैले लगाउने कपडा थिएनन्
पुस्तकघरमा मैले पढ्ने सजिव पुस्तक थिएनन्
सडकहरूमा मेरो पदचाप थिएन
मैले लेखेका अक्षरहरू उडिसकेका थिए।
अतितमा,
मैले बोलेको आवाज कसैको कानमा गुन्जिएन
प्रेममा पग्लिएका टाटाहरू हराइसकेका थिए
कतै मैले काटेका नङ भेटिएनन्
झरेका कपाल पनि माटोसँगै मिलिसकेका थिए ।
वास्तवमा
मैले छोएका हरेक चिज गुमनाम थिए ।
साथीहरूको खेलमा म रहन सकिन
आफ्नै प्रेमिकाको हृदयमा मेरो चित्र थिएन ।
कसरी भेटुँ मेरो हुलिया ?
यो संसारमा म रहेको कुनै प्रमाण थिएन ।
म !
हावाको झोक्का जस्तै
पानीमा कोरिएको अक्षर जस्तै
अँध्यारोको छाया जस्तै
पलमै हराइसकेको थिएँ ।
आखिर,
सबैलाई दुविधा भयो
म थियो कि थिएन ?
मान्छेहरूमा यस्तो दुविधा
कि भगवानमाथि थियो
कि ममाथि रह्यो ।
यही दुविधाले
एकाएक मलाई भगवान बनायो ।
चेतनपथ माधव