• २०८२ कार्तिक ५, बुधबार

‘भो नबोलाउ मलाई’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं,

काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भो नबोलाउ मलाई’ भिडियो रिलिज गरिएको हो । गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए । उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतको तारिफ गरे । उनले उक्त गीतलाई स्रोता तथा दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै निर्माण टिमलाई बधाई दिए ।

यो गीतको एरेन्ज बाबुल गिरीले गरेका छन् । पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेञ्ज गरेका छन् । दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आदिर्वादको केमेस्ट्री मिलेको देख्न सकिन्छ । गीतको भिडियो रिलिज कार्यक्रममा उपस्थित भएकी सनिशाले अभिनेता क्षेत्रीको खुबै तारिफ गरिन् । उनले भनिन्, ‘एकदमै राम्रो हुनुहुन्छ । एक्टिङ पनि राम्रो गर्नुहुन्छ, मैले उहाँको चलचित्र पनि हेरेको छु। फ्युचरमा उहाँसँग अझै धेरै काम गर्न मन छ ।’

गीतलाई राजेश शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन् भने भिडियोमा मेकअप डिपा पौडेलले गरेकी छन् । प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन् भने छायांकन उत्तम हुमागाईंले गरेका हुन् । त्यस्तै गीतको भिडियोको रंग संयोजन प्रकाश मानन्धरको छ । यो गीतलाई निर्माण पक्षले छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन, अमेजन प्राइम म्युजिकमा रिलिज गर्ने जानकारी दिएको छ । एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतको भिडियो एसएस प्रोडक्सन लण्डनले निर्माण गरेको हो ।