• २०८२ कार्तिक १७, सोमबार

रवि ‘नेपाली’को कविताकृति ‘धन्यवाद जिन्दगी’ सार्वजनिक

काठमाडौं ।

कवि रवि ‘नेपाली’ (भट्टराई)को पहिलो कविताकृति ‘धन्यवाद जिन्दगी’ एक समारोहबीच सार्वजनिक गरिएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेले कृति लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै डा. घिमिरेले रवि ‘नेपाली’का कविताहरूमा जीवनदर्शनदेखि समाजका विविध विम्ब भेटिने उल्लेख गर्दै उनका कविताले हृदयलाई छुने बताए । कृतिभित्र केही शक्तिशाली कविता रहेको बताउँदै डा. घिमिरेले कवि नेपालीका कविता एउटा पूर्ण चित्रझैँ भएको उल्लेख गरे । विमोचित काव्यकृतिमाथि पाठकीय टिप्पणी राख्दै प्रा.डा. भागवत ढकालले कवि ‘नेपाली’को कवितामा कलात्मकता प्रशस्त रहेको चर्चा गर्दै उनले यसभित्रका कवितामार्फत आफूलाई समाजसँग जोडेको बताए ।

प्रा. डा. ढकालले कृतिभित्रका कवितामा विद्यमान भावपक्ष र सौन्दर्यचेतको चर्चा गरे । प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘नेपाली’ले एउटा राम्रो कवितासंग्रह पाठकमाझ ल्याएको उल्लेख गरे । प्रा.डा. गार्गी शर्माले ‘नेपाली’ले जीवन के हो भनेर यसभित्रका कविताले परिचित गराएको उल्लेख गरिन् ।

कृतिकार ‘नेपाली’ आफूले कविता लेख्नुको कारण उल्लेख गर्दै आफ्नो जन्मथलो जलेश्वरको नोस्टाल्जियाले पनि कविताकृति आएको सुनाए । कार्यक्रममा उनले कृतिभित्रबाट केही कविताहरू वाचन गरे । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, डा. गणेश घिमिरे, डा. स्थिरप्रसाद पराजुलीले कृति र कृतिकारका बारेमा बोले ।


युनान

रङहरू