• २०८१ जेठ ५ शनिवार

कटक मल्लको पुस्तक ‘न्याय–अन्याय’ विमोचन

काठमाडौँ  ।

अन्तर्राष्ट्रिय र वातावरण कानुनका ज्ञाता कटक मल्लको ‘न्याय–अन्याय: कानून, भू-राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ । मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन् । मल्लको किताबमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू–राजनीति/कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन् ।

काठमाडौंमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानूनी दर्शनको दस्ताबेज भएको बताए । उनले भने, ‘नेपालमा कानूनसम्बन्धी पहिलो किताब २०१ वर्ष अगाडि लेखिएको थियो । त्यसयता धेरै किताब लेखिए तर, कानूनी दर्शनका आधारमा लेखिएका थिएनन् । यो किताब कानूनी दर्शनको किताब हो ।’

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वन्यायाधीश प्रभा बस्नेतले मल्लको किताबमा न्यायिक विषयलाई आलोचनात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको बताइन् । ‘किताबमा न्यायलाई आलोचनात्मक, रचनात्मक मात्र नभई मौलिक शैलीले प्रस्तुत गरिएको छ,’ बस्नेतले भनिन् । त्यसैगरी विश्लेशक चन्द्रदेव भट्टले मल्लको किताब कानून, समाज, लोकतन्त्र र भू–राजनीतिक दार्शनिक दस्ताबेज भएको टिप्पणी गरे ।

सार्वजनिक बौद्धिकका रुपमा स्थापित मल्लको यस अगाडि नेपाली भाषामा ‘मानवअधिकार’ किताब प्रकाशित छ । ‘न्याय–अन्याय: कानून, भू–राजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो । ३९८ पृष्ठको किताबको मूल्य ९९९ रुपैयाँ छ ।