समाचार

काठमाडौं ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले लेखक रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही क्रमलाई निरन्तरता दिँदै २०८१ मा प्रकाशित तथा प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित गरेको थियो । तिनै कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिस अनुसार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष जीवा लामिछानेले जानकारी गराएका छन् ।
रमेश भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले यस वर्षको ‘पद्मश्री साधना सम्मान’ नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा हमेसा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।
त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा.डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । यी तीनै पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको विज्ञप्तिमा जनाइएको छ । पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने भनिएको छ ।