• २०८२ भाद्र ३१, मंगलवार

अक्षरमार्गले गरयो सात सर्जक सम्मानित

काठमाडौं ।

काभ्रेको पनौतीस्थित साहित्यिक संस्था अक्षरमार्ग प्रकाशनले आफ्नो १३औँ वार्षिकोत्सव मनाउँदै विभिन्न सात सर्जकलाई सम्मान गरेको छ । शनिबार (भदौ १४) काठमाडौंमा आयोजित कार्यक्रममा कविवर वैरागी काइँलाले सम्मानित स्रष्टालाई सम्मानपत्र प्रदान गरे ।

अक्षरमार्गले साहित्यकार श्रीहरि फुयाँललाई ‘विष्णु हेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान, २०८२’, डा. तुलसी गौतमलाई ‘धु्रव मीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान, २०८२’, काजी रोशनलाई ‘श्रीराम स्मृति अक्षरमार्ग स्रष्टा सम्मान, २०८२’, प्रा.डा. अञ्जना वस्तीलाई ‘अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान, २०८२’, तिलक प्रकाशलाई ‘अक्षरमार्ग कृष्णदास स्रष्टा सम्मान, २०८२’, साहित्यिक पत्रकार शशी पन्थीलाई ‘कृष्ण सुन अक्षरमार्ग पत्रकारिता सम्मान, २०८२’ र प्रा.डा. सुमनराज ताम्राकारलाई ‘अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान, २०८२’ प्रदान गरेको हो ।

उक्त अवसरमा साहित्यकार सूर्य लाकोजूले अक्षरमार्गले गरेका कामबारे जानकारी गराए । सम्मानका निम्ति अक्षय कोषको व्यवस्था गरिएको उनले बताए । साहित्यकार एवम् नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले आफूहरूले अक्षरका माध्यमबाट भाषाको सेवा गरेको उल्लेख गरे । सरकार भने इम्बोस्ड नम्बर प्लेटका नाममा नेपाली भाषा मास्न उद्यत रहेको उनले बताए । यसतर्फ सम्पूर्ण साहित्यकार र कलमजीवीले सशक्त आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वैरागी काइँला, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायत साहित्यकारले बोलेका थिए ।