• २०८२ भाद्र २८, शनिबार

‘धीमहि’ उपन्यासलाई चिसाप राजकृष्ण–मायादेवी पुरस्कार, ‘सान्दाजु’लाई माधव खनाल साहित्य पुरस्कार

चितवन ।

उपन्यासकार जयराम तिमल्सिनाको कृति ‘धीमहि’ ले यस वर्षको चिसाप राजकृष्ण–मायादेवी साहित्य पुरस्कार प्राप्त गरेको छ । चितवन साहित्य परिषदले शनिबार चितवनमा विशेष कार्यक्रम आयोजना गरी तिमल्सिनालाई नगद रु पैतिस हजार पैंतालिस रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो । चिसाप अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले तिमल्सिनालाई पुरस्कार हस्तान्तरण गर्दै ‘धीमहि’ मा प्रयोग भएको स्वैरकल्पना, विसंगतियुक्त मानवीय जीवनको चित्रण, जासूसी औपन्यासिक शैली र मनोवैज्ञानिक पक्षलाई विशेष रूपमा प्रभावकारी रहेको भन्दै उक्त कृतिलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

सन् २०८१ सालमा प्रकाशित उपन्यास ‘धीमहि’ मनोवैज्ञानिक कोणबाट सुरु भई पात्रहरू विवेक, सुयोग र दीपेन्द्रबीचको चारित्रिक भिन्नता तथा दीपेन्द्रको निधनअघि र पछिको समाजको व्यवहारलाई दर्शनसँग जोडेर प्रस्तुत गरिएको छ ।

उपन्यासकार तिमल्सिना नेपाली साहित्यमा कविता, निबन्ध र आख्यानका क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएको छ । त्यस्तै, चिसाप माधव खनाल साहित्य पुरस्कार यस वर्ष उपन्यासकार सुभाष घिमिरेको कृति ‘सान्दाजु’ लाई प्रदान गरिएको छ। आयोजकले घिमिरेलाई पनि नगद रु पैतिस हजार पैंतालिस रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै नेपाली उपन्यास साहित्यमा उहाँले पुरयाउनुभएको योगदानको कदर गरेको छ ।