• २०८२ भाद्र २८, शनिबार

यो घर अझै उस्तै छ-

सुमन वर्षा

सुमन वर्षा

ढोकामा टाँसिएको नागको फोटो
आँगनमा ठड्एको यो तुलसीको मठ
भित्तामा टाँसिएका पुराना तस्बिरहरू
खम्बामा झुन्डिरहेको थोत्रो रेडियो
सबै अझै उस्तै छ-

तर हराएको छ- एउटा प्रिय आवाज
“चिसो लाग्छ, त्यो टाउको सलले छोप ।”
“जीवन उज्यालो हुन्छ, बिहान सबेरै उठ ।”

अब सुनिनेछैनन् ती आवाजहरू
ती मायालु आदेशहरू
जीवनका अर्थदिने उपदेशहरू
कतै बिरानो भयो छुट्यो खै किन यसरी
यद्धपी घन्किरहेछ मिठो धुनसरी मस्तिष्क वरिपरि

भान्सामा आगो त सल्किन्छ, त्यसरी नै
तर छैन त्यस्तै मिठास भातको
तिनै त छन् ओछ्यान पनि
तर छैन् सुम्सुम्याउने न्यानोपन हातको

अब यो रिक्तता भित्रै फुलाउनुछ
तिमीले सारेका स्मृतिका फूलहरू
यही अभावभित्र नै भेट्नुछ
तिमीले छोडेको जीवनको उज्यालो
यो तिम्रो अनुपस्थितीमा गहिर्याउनुछ
तिमीले दिएको संस्कार

आखिर यो अभाव नै त रहेछ
उपस्थितिभन्दा पनि गहिरो भएर बाँच्ने !


सुमन वर्षा