समाचार

हिजोआज
मलाई कसैसँग पनि
आँखा जुधाएर
कुरा गर्न मन लाग्दैन
मैले मेरो परेलामा
तिम्रो नाम लेखेको छु
कसैले ठूलठूलो श्वरमा
सबैले सुन्ने गरी पढिदियो भने ?
मलाई पढ्न जान्नेहरूसँग
खुब डर लाग्छ
यिनै जान्नेले नै त हो नि
ट्याङ्करलाई थिङ्कर पढिदिएपछि
मेरो टोलका ट्याङ्करहरू
हामी थिङ्कर हौँ भन्दै उफ्रिन थालेको
र उनीहरू उफ्रिन थालेको दिनदेखि
मेरो टोल बस्नै नसकिने गरी प्रदुषित बनेको
यस्तै पढ्न जान्नेले
तिम्रो नामलाई पनि
त्यसरी नै बिगारेर पढिदियो भने
म कसरी सुन्न सकुँला
तिम्रो त्यो बिगारिएको नाम
कल्पना पनि गर्न सक्दिनँ !
हिड्न पनि मलाई
कसैले नदेख्ने गरी
हिँडु जस्तै लाग्छ
मैले तिम्रो लचकदार पिँडुलाको चाललाई
मेरो खुट्टाको गति बनाएको छु
कसैले त्यही गतिलाई
नक्कल गरेर हिड्दैहिड्दै
मतिर आएर
मनमा बसिदियो भने
तिमीलाई कहाँ राख्नु ?
अहो१ सम्झन पनि सक्दिनँ !
एकपटकको कुरा हो-
मोहनी चालमा
लचकदार हिडाइ हिड्दै
आएर मनमा बस्छु है भनेपछि
नाइँ भन्न सकिनँ
पस्ने बेलामा त
मैले नै हो
मनको ढोका खोलिदिएको
तर निस्कने बेलामा
कताबाट गए, थाहासम्म पाइनँ
मनमा बसेर जानेहरूले
मनको तातो पनि लिएर गएपछि
म अहिले पुरै बत्तीएको छु
कोही आएर बसेको मन मात्र
न्यानो र भरिलो हुदोरहेछ
जानेहरू गएपछि त
म पुरै चिसिएर रित्तिएको छु
रित्तो मन त साह्रै गह्रौं हुँदोरहेछ
म त्यही गह्रुङ्गो मन बोकेर
भागेर जानेहरूको
सूचि बनाउँदैछु
उनीहरूको हुलिया सहित
सार्वजनिक गर्नको लागि
देख्नु-भेट्नु भयो भने
खवर गर्दिनुस् ल
मैले तिनीहरूबाट भाडा असुल्नु छ
कसैको मनमा बसेपछि
भाडा नतिरी भाग्न मिल्छ ?
बालकृष्ण कट्टेल