समाचार

सर्लाही ।
‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ का लागि १० कृति छोट सूचीमा परेका छन्। परिषद्ले शनिबार एक विज्ञप्ति जारी गर्दै भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका उद्देश्यले स्थापना गरिएको यो पुरस्कारका लागि छनोट भएका कृतिहरूको नाम सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञहरुको सहभागितामा गठन गरिएको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा १२२ कृतिहरूमध्येबाट १० उत्कृष्ट कृति छनोट गरिएको परिषद्ले जनाएको छ। छोटो सूचीमा रमेश क्षितिजको (कथा सङ्ग्रह) एउटा मायी नगरमा, माधवी वियोगीको (महाकाव्य) कर्मयोगी षडानन्द, राजकुमार राईको (उपन्यास) किवाहाङ, ठाकुर बेलबासेको (कविता सङ्ग्रह) चोटहरूको उत्सव, डा. रेणुका सोलुको (निबन्ध) तुइन जिन्दगी, जुनु रानाको (कविता सङ्ग्रह) रातो नदी, बाबु त्रिपाठीको (कविता सङ्ग्रह) सालिक हराएको देश, डा. श्रीधर खनालको (उपन्यास) सावर्णि, शंकरप्रसाद गैरेको (उपन्यास) सूतपुत्र, अर्जुनबाबु दहाल (कविता सङ्ग्रह) हिँड्न बाँकी बाटाहरू रहेको छ ।
परिषद्ले अब पुनः समितिको सिफारिसमा यीमध्येबाट एक उत्कृष्ट कृति छानेर ‘भाषा तथा साहित्य पुरस्कार–२०८२’ प्रदान गर्ने जनाएको छ। पुरस्कारको राशि रु. ५० हजार रहनेछ ।