• २०८२ भाद्र २९, आईतवार

’बारुदले कोरेका अक्षरहरू’ लाई युद्ध साहित्य पुरस्कार

काठमाडौँ ।

भीम विरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरू’ लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन् २०२५) प्रदान गरिने भएको छ । ताम्रपत्रसहित ५० हजार रुपैयाँको पुरस्कार आगामी चैतमा प्रदान गरिने युद्ध साहित्य पुरस्कार कोष बेलायतले जनाएको छ । नेपाली युद्ध साहित्यका कृतिमध्येबाट उत्कृष्टलाई हरेक तीन वर्षमा युद्ध साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशन गरेको राईको संग्रहभित्र ३८ कविता संकलित छन् । यी कविता मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहँदा देखे–भोगेका युद्धका विभीषिका र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा आशा, सङ्घर्ष र परिवारसँगको विछोड लगायतका विषयमा लेखिएका छन् ।

राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९) र ‘दबिएका आवाजहरु ’ (कवितासंग्रह, २०६४) प्रकाशित छन् ।राई सेवा निवृत्त भारतीय गोर्खा सैनिक हुन् । उनी हाल अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य छन् ।

युद्ध साहित्य पुरस्कार २०७८ (सन् २०२२) पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ लाई प्रदान गरिएको थियो । युद्ध साहित्यका अभियन्ता गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्देश्यले २०७८ (सन् २०२२) मा युद्ध साहित्य पुरस्कारको स्थापना गरेका हुन् ।