• २०८२ आश्विन ७, मंगलवार

डा. कृष्णजंग राणाको दुई काव्यकृति लोकार्पित

काठमाडौं ।

कवि गजलकार डा. कृष्णजंग राणाद्वारा लिखित दुई काव्यकृति ‘मुटुभरि माया’ (नेपाली काव्य) र ‘दिल से दिल तक’ (हिन्दी–उर्दु गजल) लोकार्पण गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रममा कवि डा. राणासहित शरच्चन्द्र वस्ती, डा. श्वेता दिप्ती, डा. धनेश द्विवेदी, इम्तियाज वफा र प्रा.डा. सनतकुमार वस्तीले कृति सार्वजनिक गरे ।

भाषाविद् वस्तीले डा. राणाको यस काव्यकृतिमा अन्तरमनको गहिराइ भेटिने बताए । यसभित्र लय, मिठास र भाषाको पारदर्शिता रहेको उनले उल्लेख गरे । साहित्यकार डा. श्वेता दिप्तीले हिन्दी उर्दु काव्यमाथि पाठकीय मन्तव्य राख्दै जिन्दगी कसरी अगाडि बढ्छ भन्ने कुरा डा. राणाका काव्य र कृतिबाट थाहा पाइने बताइन् ।

९५ वर्षीय कवि डा. राणाले सबैप्रति आभार व्यक्त गर्दै काव्यको दुई हरफ सुनाए:

आयु होइन जीवन देऊ
अन्तरमनमा चिन्तन देऊ ।

प्रा.डा. वस्तीले दुई दर्जन कृतिका सर्जक ९५ वर्षको उमेरमा पनि साहित्य सिर्जनामा लागेको बताए । उक्त अवसरमा रामचन्द्रमान सिंह, इम्तियाज वफा, डा. वरदानजंग राणा, अश्विनी कोइरालाले कृतिबारे धारणा राखे । कार्यक्रममा मनमोहन थपलिया, शान्ति शर्मा, डा. धनेश द्विवेदी र धीरेन्द्र प्रेमर्षिले कृतिभित्रका गजल वाचन गरेका थिए ।