• २०८२ भाद्र ४, बुधबार

कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ विमोचन

काठमाडौँ ।

सर्लाहीको हरिवन–८ निवासी स्व. तुलसीप्रसाद भट्टराईको स्मृतिमा लेखिएको पुस्तक ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्वरक्षामन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, स्व. भट्टराईकी धर्मपत्नी रत्नमञ्जरी भट्टराई, सर्लाहीका राजनीतिज्ञ तथा समाजसेवी विनोद खनाललगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

वि. सं. १९९७ असार ४ मा ओखलढुंगामा जन्मिएका भट्टराईको २०८१ साउन १८ मा निधन भएको थियो । ओखलढुंगा र सर्लाहीमा समाज सुधारका कार्यमा योगदान पु¥याएका स्वर्गीय भट्टराईको स्मृतिमा उनका छोराहरू कुमार, अरुण र नरेशले तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठान गठन गरी सामाजिक कार्यमा सक्रिय छन् । स्वर्गीय तुलसीप्रसादका जेठा छोरा गणेशको २०७५ माघ १२ मा बारामा सवारी दुर्घटनामा निधन भएको थियो ।

डा. तुलसी भट्टराई र डा. होमप्रसाद भट्टराईबाट सम्पादित स्मृतिग्रन्थमा स्वर्गीय भटराईका १८ वटा लेख र अन्य ४० लेखकका रचनाहरू समाबेश छन् । ‘बाले आफ्नो जीवनकालमा गर्नुभएका रचनालाई अभिलेखका रूपमा संग्रहित गरेका छौँ,’ उनका कान्छा छोरा एवं सञ्चारकर्मी नरेश भट्टराईले बताए । पुस्तक लोकार्पण समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, गीतकार दिनेश अधिकारी, पूर्वमहान्यायधिवक्ता बद्री बहादुर कार्कीलगायतको उपस्थिति थियो ।