समाचार

रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । पुरस्कारको राशि रु दश हजार , दोसल्ला र सम्मान पत्र रहेको छ । वरिष्ठ साहित्यकार काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, साहित्यकार काजी रोशनले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्दै स्व रणबहादुर खड्का र स्व शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ सरुको योगदान उल्लेखनिय रहेको भन्दै उहाँको साहित्यिक सृजना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गरिएको बताउनु भयो ।
मध्यनेपाल न पा ३ सोतीपसल ,लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेको सरुको “थुङ्गा थुङ्गा जिन्दगानी’’ (गीत सङ्ग्रह), “एक झुल्को घाम ओर्लेर सडकमा’’ ( कविता सङ्ग्रह), “फूलहरुको आँधी’’ (कविता सङ्ग्रह), “किट्टी’’ (बालकथा सङ्ग्रह) प्रकाशित रहेका छन् ।
त्यसैगरी कवि सरस्वती श्रेष्ठ सरुले नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान, इलाम (२०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), नवनीत साहित्य सम्मान (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६), समता काव्य सम्मान (२०६६), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान ( २०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१),जननी अवार्ड ( २०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार ( २०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान ( २०७४),सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६),नारी वाङ्मय प्रतिभा प्रतिष्ठान सम्मान ( २०७७), साहित्य शृङ्खला सम्मान ( २०७७),राष्ट्रिय संगीतकर्मी संघ सम्मान (२०७७),सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), झलक (पुष्पा सृजना पुरस्कार ( २०७९), नइ रजत महोत्सव पदक ( २०७९), नइ कृति रत्न ( २०८०), अभिलेख सम्मान (२०८१),गीतकार प्रतिष्ठान सम्मान (२०८१) यसअघि प्राप्त गरिसक्नु भएको छ । कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिनु भएको थियो भने, कार्यक्रम सञ्चालन नवराज गौतमले गर्नु भएको थियो ।